माडी, १८ भदौ ।
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भदौ २० गते सामुदायिक रेडियो माडी एफएमको १३ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न आउने क्रममा इलाका प्रशासन माडीमा राष्ट्रिय परिचयपत्र वितरण युनिटको पनि उद्घाटन गर्ने भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ईलाका प्रशासन कार्यालय माडीबाटै राष्ट्रिय परिचयपत्र जारी गर्ने व्यवस्था मिलाउन पत्राचार गरेपछि भदौ २० गते नै राष्ट्रिय परिचयपत्र वितरण युनिट माडीको पनि उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय भरतपुर जानु परेका कारण माडीबासीलाई धेरै समस्या परेको भन्दै रेडियो माडीका संरक्षक एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ऋषि काफ्लेको नेतृत्वमा नेकपा माओवादी केन्द्र माडी नगरपालिकाका उपाध्यक्ष नेता सन्तोष पनेरुसिहतको प्रतिनिधि मण्डलले गत साउन २९ गते काठमाडौं गएर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरी माडीमा परिचयपत्र युनिट स्थापनाको निर्णय गरिदिन अनुरोध गरेको थियो ।
माडीका समस्यालाई नजिकबाट निहालिरहेका गृहमन्त्री श्रेष्ठले प्रतिनिधि मण्डलको अनुरोध, माडी नगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको सिफारिसअनुसार माडीमा राष्ट्रिय परिचयपत्र जारी गर्ने व्यवस्था मिलाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्रमुखलाई निर्देशन दिएका थिए ।
दिवाकर सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो माडी एफएमको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेपश्चात माडीको परिचयपत्र वितरण युनिटको उद्घाटन गरिने कार्यक्रम रहेको सामुदायिक रेडियो माडीका अध्यक्ष ओमनाथ पाण्डेले जानकारी दिए ।





