गैंडाकोट, १७ भदौ ।
गैंडाकोटस्थित जनक कलेजले १७औँ वार्षिकोत्सवका अवसरमा खुला कविता प्रतियोगिता गरेको छ । कलेजको वार्षिकोत्सव अन्तर्गतका कार्यक्रमहरू आइतबारदेखि विधिवतरूपमा सुरु भएका छन् । कार्यक्रमको पहिलो दिन आयोजना गरिएको कविता प्रतियोगितामा देवघाटका विवेक पराजुलीले प्रथम स्थान हासिल गरे । पराजुलीले `वर्तमान´ शीर्षकको कविता प्रस्तुत गरेका थिए । 
त्यसैगरी देवघाट कै योगेश आचार्यले द्वितीय स्थान हासिल गरे । आचार्यले `मेरो देश´ शीर्षकको कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा श्रीधर पाण्डेय र दीक्षा पाठकले तृतीय स्थान हासिल गरेका छन् । देवघाटका पाण्डेयले `राधाकृष्ण´ शीर्षकको कविता र जनक कलेजकी पाठकले देशको अवस्थालाई चित्रण गर्दै कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा जनक माविका शिक्षक मनोज विक्रम बिष्टले सान्त्वना स्थान हासिल गरेका छन् । बिष्टले `आखिर म तयार भएँ´ शीर्षकको कविता प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि प्राडा नारायणप्रसाद खनालले विजयी प्रतियोगीलाई बधाई दिँदै प्रतियोगिता आयोजना गरेकोमा कलेजलाई धन्यवाद दिए । प्रथम भएकालाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई १ हजार नगद रुपैयाँ पुरस्कार रहेको कलेजले जनाएको छ । कार्यक्रममा केदारनाथ खनाल, चूडामणि शर्मा कँडेल र विश्वराज लम्साल निर्णायक रहेका थिए । कार्यक्रममा कवि गोविन्दराज विनोदी, जनक कलेजका प्रमुख चेतनाथ भुसाल, गीतकार रमेश पौडेललगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पराजुलीको अध्यक्षतामा गरिएको कार्यक्रमलाई कलेजका प्राध्यापक हिमालदेव पंगेनीले सहजीकरण गरेका थिए ।





