भरतपुर, १५ भदौ
लोकसँस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजना र राइनो क्लब नारायणगढको सहआयोजनामा भदौ १८ गते बुधबार नारायणगढमा बाघजात्रा निकालिने भएको छ । आयोजक संस्था लाखेनाच प्रतिष्ठानले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी बाघजात्रा आयोजनाबारे जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष निर्जनलाल श्रेष्ठले पहिले बन्दीपुरमा मात्रै आयोजना हुँदै आएको बाघजात्रा बन्दीपुरबाट बसाइँ सरेर आएका नेवार समुदायले २०२४ सालदेखि नारायणगढमा आयोजना गर्दै आएको जानकारी दिए । ‘प्रतिष्ठानले पहिलोपटक २०७६ सालमा बाघजात्रा आयोजना गरेको हो’ उनले भने, ‘त्यसपछिका वर्षहरुमा कोभिडको कारण आयोजना गर्न सकेनौँ । अहिले दोस्रोपटक आयोजना गर्दैछौँ ।’
आगामी सोमबार साँझ नारायणगढ बसपार्कबाट निकालिने बाघजात्राको निम्तो (हो पाचः) बिहान निकालिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाईजात्राको पाँचौँ दिन बाघजात्रा निकाल्नु पर्ने परम्परा रहेको उनले स्पष्ट पारे । बाघ बन्ने व्यक्तिको अभावमा पहिलोपटक बन्दीपुरबाटै झिकाएका व्यक्तिलाई बाघ बनाइएको स्मरण गर्दै श्रेष्ठले यसपटक भने भरतपुर–१ का राजु परियारलाई बाघ बनाउन लागिएको जानकारी दिए ।
बाघजात्रामा आर्थिक सहयोगसहित नारायणगढ बसपार्क टोलसुधार समिति पनि सहभागी हुने समितिका अध्यक्ष पदम श्रेष्ठले बताए । नेवारी समुदायले सुरु गरे पनि यसलाई बिस्तारै समावेशी बनाउँदै अन्य समुदायका व्यक्तिलाई पनि सहभागी गराउन लागेको उनले बताए ।
नेपालमा बाघजात्रा बन्दीपुर र नारायणगढमा मात्रै आयोजना हुँदै आएको आयोजक संस्थाको दाबी छ । संस्थाको अध्यक्ष श्रेष्ठले बाघजात्राको लागि स्थानीय सरकारबाट कुनै सहयोग प्राप्त हुन नसकेको गुनासो गरे ।





