पुस्तकालयको उपयोग कसरी गर्ने ?

मानिसको बौद्धिक स्तर कुन किसिमको छ भनेर बुझ्न उसले पढ्ने गरेको पुस्तकबाट थाहा हुन्छ । मानिसमा जुन किसिमको बौद्धिक स्तर छ, सोही किसिमको पुस्तक हुन्छ उसको कोठामा । ज्ञानका विभिन्न स्रोतमध्ये पुस्तकको महत्व ठूलो छ । पुस्तकबिनाको संसार अन्धकार हुन्छ । एक दार्शनिक सिसेरोले पुस्तकको महत्व दर्साउँदै भनेका छन्, “पुस्तक नभएको कोठा र आत्मा नभएको शरीरमा कुनै अन्तर हुँदैन ।”  पुस्तकालय सभ्य, सुसंस्कृत अनि शिक्षित समाजको अभिन्न अंग हो, भण्डार हो । मानव इतिहास, सभ्यता र संस्कृतिको परिचायक हो । सूचना र ज्ञान विना कुनै पनि व्यक्ति समाज र देशको सफल कार्यको कल्पना हुन सक्दैन । यसलाई पुरा गर्न पुस्तकालयको आवश्यकता पर्दछ । संस्कृत भाषाको पुस्तक र आलय शब्दबाट उत्पत्ति भएको शब्दलाई नेपाली भाषामा पुस्तकालय भनिन्छ । पुस्तक र आलयबाट पुस्तकालय बनेको छ । जसको अर्थ पुस्तकहरु संग्रह गर्ने स्थान वा घर भन्ने बुझिन्छ । परम्परागत रुपमा पुस्तकालयलाई पुस्तकहरु संग्रह गर्ने संग्रहालयको रुपमा प्रयोग गरिन्थ्यो । तर समयको विकास सँगै यसको अर्थमा पनि केही परिवर्तन हुँदै वर्तमान समयमा पुस्तकालयलाई पुस्तक संग्रह मात्र नभई यसले ज्ञान सुचनाको संग्रह वर्गीकरण, व्यवस्थापन सुरक्षा र वितरण भन्ने जनाउँदछ ।
मानव जातिको उत्पत्ति कालदेखि नै आफूले देखे भोगेका अनुभूत गरेका कल्पना गरेका र प्रमाणित विचारहरुलाई लिपिवद्ध गर्न माटाका चक्कीबाट सुरु गरिएको अभिलेखीकरणको परम्परा क्रमशः ढुंगा, काठ समुद्री विरुवाको बोक्रा, जनावरको छाला, धातु, ताडपत्र, भोजपत्र, कागज हुँदै श्रव्य दृश्य जस्ता विद्युतीय सामग्रीसम्म आइपुगेको छ । जसलाई नै इतिहासको जरो मान्नु पर्दछ ।
पुस्तकालयको उपयोग
पुस्तकालय एक बहुउपयोगी ज्ञान केन्द्र वा भण्डार भए पनि यसलाई मुख्य रुपमा निम्नानुसार उपयोग गर्न सकिन्छ :
१) पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युतिय श्रोत मार्फत आध्नीक सूचनाप्रविधिको क्षेत्रमा आफ्नो पहुँच ज्ञानको क्षेत्र बढाउन सकिन्छ ।
२) पुस्तकालयमा उपलब्ध विभिन्न पुस्तक, पत्र–पत्रिकाहरु, श्रव्य–दृश्य आदि श्रोत सामाग्रीको अध्ययन अवलोकन गरी आफ्नो रुची अनुसारको ज्ञान/सीपको परिधिलाई बढाउन सकिन्छ ।
३) पुस्तकालमा उपलब्ध श्रोत र सामग्रीहरुको प्रयोग विद्यालय-कलेजबाहेकको फुर्सदको समयको सदुपयोग गर्न सकिन्छ ।
४) पुस्तकालयमा उपलब्ध साधन र श्रोतको माध्यमबाट आफ्नोे कला, सीप र क्षमता अभिबृद्धि गर्न सकिन्छ ।
५) पुस्तकालयलाई साथीहरु भेट्ने र अध्ययन गर्ने स्थलको रुपमा प्रयोग गर्न सकिन्छ ।
६) विभिन्न समयमा पुस्तकालयका प्रयोगकर्ताहरुबीच आफूले अध्ययन गरेको पुस्तक, लेख रचना आदिको बारेमा छलफल गर्ने थलोको रुपमा पनि पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ ।
७) ऐतिहासिक पुस्तक, लेख–रचना आदिको अभिलेख र संरक्षणका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ ।
८) परीक्षा तयारीको लागि पनि पुस्तकालयलाई उपयोग गर्न सकिन्छ ।
पुस्तकालयलाई खोज, अध्ययन र श्रोतको रुपमा बहुउपयोग गर्न सकिन्छ । यसको उपयोगिताको व्यख्या गरेर कहिले सकिन्न । त्यसर्थ, आफ्नो समुदाय, विद्यालय र कलेजमा रहेको पुस्तकालयको सदुपयोग गरौं जसले सदविचार र ज्ञान आर्जन गर्न सबै मद्दत गर्दछ ।
पुस्तकालयको इतिहास र वर्तमानमा परिवर्तन आएको छ । सूचना प्रविधिसँगै पुस्तक र पुस्तकालय अस्तित्व हराउने चर्चा चलि रहेको अवस्थामा पनि विभिन्न स्थानहरुमा शैक्षिक तथा सामुदायिक स्तरमा पुस्तकालय स्थापना र सञ्चालन भई रहेका छन् । हाल पुस्तकालयलाई पूर्ण भौतिक रुपमा मात्र सञ्चालन नगरेर समय सपेक्ष रुपमा सूचना प्रविधिलाई पनि प्रयोग गरी भौतिक र भर्चुअल रुपमा प्रयोग योग्य बनाउनाले नै पुस्तकालयको प्रयोग र विस्तार भै रहेकोछ ।
प्रसंग राष्ट्रिय पुस्तकालय दिवस
नेपालमा पुस्तकालयको इतिहास दुई सय वर्ष पुगिसकेको छ । तर पुस्तकालयको प्रयोग र महत्व केही सीमित व्यक्तिहरुमा मात्र सिमित थियो । विस्तारै सार्वजनिक रुपमा पुस्तकालय खोल्दै जाने, शैक्षिक पुस्तकालयको आवश्यकता, महत्व र प्रयोग वढ्दै जान थालेपछि नेपालमा पुस्तकालयको जन्म, विकास सम्बन्धमा पुस्तकालय प्रेमीहरुको चासो बढ्दै जान थाल्यो । ज्ञानको मुहानको रुपमा चिनिने पुस्तकालयलाई सम्मान गर्नुपर्दछ यसको दिवस मनाउनु पर्दछ भन्ने महशुस हुन थाल्यो । यसै क्रममा पुस्तकालय प्रेमी संस्कृतविद, इतिहासविदहरुको बीचमा छलफल भइ पुस्तकालय दिवस मनाउन तपशिल बमाजिम को तर्क सहित प्रत्येक वर्षको भाद्र १५ गतेलाई चयन गर्न सफल भयो ।
पृथ्वीनारायण शाहले युद्धबाट काठमाडौं उपत्यका विजय गरेपश्चात नुवाकोट दरबार, गोरखा दरबारबाट भक्तपुर तथा जहाँ–जहाँ विजय गरे त्यहाँको हस्तलिखित ग्रन्थहरु हनुमानढोका स्थित दरबारको पुजाकोठामा राखियो । यसरी सङ्ग्रह गरिएको केही वर्षपछि अघोषित राजकीय पुस्तकालयको दर्जा पायो । राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८६९ भदौ १५ (सन् १८१२ अगष्ट २८) गते शुक्रबार षष्ठि तिथिका दिनमा ‘पुस्तक चिताइ तहविल’ सम्बन्धी नीति नियमको लालमोहर जारी भयो । जसमा ‘चिताइ’ भन्नाले रेखदेख र ‘तहविल’ को अर्थ सङ्ग्रह हुन्छ । यसै लालमोहरबाट नेपालको इतिहासमै सर्वप्रथम पुस्तकालयले कानुनी मान्यता पायो । जसको फलस्वरुप आज पनि हामी भदौ १५ गते पुस्तकालय दिवसको रुपमा मनाइरहेको छौं ।
नेपालको पहिलो पुस्तकालय तहविलदार (लाइब्रेरियन) पण्डित केदारनाथ झालाई वार्षिक रु १२५ दिने गरी नियुक्त गरिएको थियो । यसर्थ राजा गिर्वाणयुद्ध विक्रम शाहले नेपालमा पुस्तकालयको सुरुवात गराएका थिए । त्यतिबेला तहविलदारको काम दैनिक पुजाआजा गर्नु, पुस्तक आदि सामग्रीको रक्षा गर्नु, किरा मुसाबाट जोगाउनु रहेको थियो ।
यसपछि राणा प्रधानमन्त्री जङ्गबहादुरले सन् १९०४ मा ‘पुस्तक चिताइ तहविलका’ पुस्तकहरु थापाथली दरबारमा सारी खड्गराम जोशीलाई लाईब्रेरियन नियुक्त गरेका थिए । त्यसैगरी १९५३ मा वीर शमशेरले सो पुस्तकालयलाई दरबार स्कूलमा सारे र यसैलाई दरबार लाईब्रेरीको नामले चिनियो । पछि १९५७ मा यसलाई घण्टाघरमा निर्मित नयाँ भवनमा सारियो र वीर पुस्तकालय नाम दिइयो । वीर शमशेरको पालादेखि पुस्तकालय सर्वसाधारणका लागि पनि खुल्ला गरियो । अहिले यी पुराना सामग्रीहरु रामशाहपथको राष्ट्रिय अभिलेखालयमा संरक्षित रहेका छन् ।
पुस्तकालय दिवस र चितवन
देशकै मध्य भागमा रहेको अन्य जिल्ला भन्दा शैक्षिक क्षेत्रमा अग्र स्थानमा रहेको चितवन जिल्ला मेडिकल सिटीको रुपमा चिनिदै आएतापनि पुस्तकालयको विकासको क्षेत्रमा पछि नै परेको महसुस हुन्छ । चितवनमा साना ठुला गरेर ५० भन्दा बढी पुस्तकालय रहेतापनि खोज र अनुसन्धानको कमीले कुन ठाउँमा कस्ता खालका पुस्तकालय कुन अवस्थामा छन भन्ने किटानका साथ भन्न सकिँदैन । व्यक्तिमा पनि पुस्तकालयप्रति रुचि कम हुनु, राज्यले पनि कुनै ध्यान नदिनुले शैक्षिक बाहेक अन्य पुस्तकालयहरु जीर्ण र लोपोन्मुख अवस्थामा छन । यदि यस्ता पुस्तकालयको संरक्षण, जीर्णाेदार विकास गर्न सके लोकतान्त्रिक जननिर्वाचित स्थानीय सरकारले बनाउन खोजेको सभ्य समाजको निर्माणमा टेवा पुरयाउने थियो  र १६ औं  राष्ट्रिय पुस्तकालय दिवस “पढौं पढाऔ निरन्तर, शिक्षाका लागि पुस्तकालय जाऔ ” भन्ने मूल नाराले मूर्त रुप पाउन सक्ने थियो होला ।
नेपाल सरकारको शिक्षा मन्त्रालय संघीय मामिला तथा स्थानीय मन्त्रालयले केन्द्रीय स्तरमा पुस्तकालय दिवसलाई महत्व दिए पनि चितवनमा भने खासै चहल पहल देखिँदैन । पुस्तकालय क्षेत्रप्रति चासो नहुनुमा केही कारणहरु छन्, जसमा पुस्तकालयमा गएर पढ्ने संस्कृतिको विकास नहुनु, पाठकका रुची अनुसारका अध्यनन सामग्रीहरुमा कमी हुनु, भइरहेको पुस्तकालय पनि समय अनुसार परिवर्तन वा चल्न नसक्नु, राज्यको ध्यान कमी हुनु र पुस्तकालय सम्बन्धी एक छाता संगठनको अभाव हुनुलाई मान्न सकिन्छ । यदि पुस्तकालयको विकास गर्न सके व्यक्ति, परिवार समाज हुँदै राष्ट्र नै सभ्य बन्न सक्दछ ।
सूचना र ज्ञानविना कुनै पनि समाज र जुनसुकै सफल कार्यको कल्पना हुन सक्दैन । त्यसैले पुस्तकालय दिवसको बहुआयामिक महत्वलाई बुझेर पुस्तकालय तथा सूचना केन्द्र सम्वन्धी विभिन्न संघसंस्था, व्यक्तित्वहरु, शिक्षक, विद्यार्थी, संस्कृतविदहरुको सल्लाह सुझावहरुको आधारमा नेपालको पुस्तकालयको इतिहास, संस्कृति र सभ्यता झल्कने दिनलाई पुस्तकालय दिवस मनाउने निर्णयअनुसार वि.स.१९६९ भाद १५ गतेका दिन पुस्तकालय विकासका लागि लगाईएका लालमोहरलाई आधारमानी पुस्तकालयको महत्व र समस्याका बारेमा जे जस्ता अवस्था भएपनि चितवन जिल्लामा पनि केही पुस्तकालय पेशाकर्मी संगठित भइ राष्ट्रिय पुस्तकालय दिवस प्रत्येक भाद्र १५ मा मनाउँदै आएका छौं । नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाउने क्रममा चितवनमा पनि निम्न नाराहरु र स्थानहरुमा तपसिल बमोजिम राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएका छौं ।
 पहिलो राष्ट्रिय पुस्तकालय दिवस २०६५  “सवैका लागि पुस्तकालय” उक्त दिवस चितवनमा मनाउन असमर्थ ।
 दोस्रो राष्ट्रिय पुस्तकालय दिवस २०६६ “पुस्तकालयको विकास नयाँ नेपालको निकास” उद्योग वाणिज्य संघ रत्ननगर टाँडी चितवन ।
 तेस्रो राष्ट्रिय पुस्तकालय दिवस २०६७ “सूचना, ज्ञान र सीपका लागि पुस्तकालय” वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल यज्ञपुरी चितवन ।
 चौथो राष्ट्रिय पुस्तकालय दिवस २०६८ “समृद्ध नेपालका लागि पुस्तकालय” स्कुल अफ हेल्थ साइन्स भरतपुर  ।
 पाँचौँ राष्ट्रिय पुस्तकालय दिवस २०६९ “ पुस्तकालय जाऔं, पढ्ने बानीको विकास गरौं ” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
 छैटौं राष्ट्रिय पुस्तकालय दिवस २०७० “एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” स्कुल अफ हेल्थ साइन्स भरतपुर ।
 सातौं राष्ट्रिय पुस्तकालय दिवस २०७१ “पुस्तकालयको विकास, सभ्य समाजको आधार” स्कुल अफ हेल्थ साइन्स भरतपुर ।
 आठौं राष्ट्रिय पुस्तकालय दिवस  २०७२ “पुस्तकालयलाई माया गरौं, पुस्तकालयलाई विकास गरौं” । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
 नवौं राष्ट्रिय पुस्तकालय दिवस २०७३ “ जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
 दशौं राष्ट्रिय पुस्तकालय दिवस २०७४ “जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तह र एक नमुना पुस्तकालय” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
 एघारौं राष्ट्रिय पुस्तकालय दिवस २०७५ “सम्वृद्ध पुस्तकालय सुदृद्ध समाज”दोभान पुस्तकालय भरतपुर ।
 बाह्रौं राष्ट्रिय पुस्तकालय दिवस २०७६ लाई “पठन संस्कृतिको पुर्वाधार, पुस्तकालयको विकास र विस्तार” वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर ।
 तेह्रौं पुस्तकालय दिवस २०७७ “समाज रुपान्तरणको लागि पुस्तकालय” आ–आफना बन्द कोठामा सूचना र प्रबिधिको माघ्यमबाट ।  २०७७ सालमा बिश्व समुदाय नै कोरोना माहामारीबाट अस्तब्यस्त बनी सम्पूर्ण विश्व मानव विकासको  सबै पक्षमाथि बज्रपात परी मानव विकासका कार्य र गतिबिधिहरूमा ताला लगाएको अवस्था भए पनि हामीले समाज रुपान्तरणको लागि पुस्तकालय भन्ने मूल नाराका साथ अन्तरक्रिया गरि भाद्र १५ मा नै मनायौं ।
 चौधौँ राष्ट्रिय पुस्तकालय दिवस- २०७८ “सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र विस्तार”भन्ने मूल नाराका साथ भरतपरमा मनायौं ।
 पन्ध्रौं राष्ट्रिय पुस्तकालय दिवस “पढौं पढाऔँ निरन्तर, शिक्षाका लागि पुस्तकालय जाऔँ ” रामेश्वर सार्बजनिक पुस्तकालय भरतपर ०२ क्षेत्रपुर मा मनायौं ।
सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस “पुस्तौँपुस्ताका लागि पुस्तकालय” भन्ने आदर्श वाक्यका रामेश्वर सार्बजनिक पुस्तकालय भरतपर ०२ क्षेत्रपुर मा मनाउँदै छौँ ।
पुस्तकालयको विकास र यसको उपयोगलाई प्रोत्साहन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाईमा यो दिवस मनाउने गरिएको छ । मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समितिले काठमाडौंमा मात्र सीमित भई पुस्तकालय दिवस मनाएको छ । विभिन्न जिल्लाहरुमा केही साहित्यिक तथा पुस्तकालय संघले यो दिवसमा औपचारिक कार्यक्रम गरेर मनाएका छन् । पुस्तकालय दिवस मूल आयोजक समितिले सबै विश्वविद्यालय, प्रदेशका सामाजिक विकास मन्त्रालयहरु, ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरु, ७ सय ५३ वटै स्थानीय तहका साथै पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी संघसंस्थाहरुलाई विविध रचनात्मक कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको भए पनि सरकारी स्तरबाट उल्लेख्य कार्यक्रम भएनन् ।
पुस्तकालय दिवस मनाएर ठूलो उपलब्धी हासिल नगरे पनि कुनै दिन सबै निकाय, संघ संस्थाले साथ दिने छ भनि हामी यसलाई निरन्तरता दिइरहेका छौं । साथै २०७६ देखि संघीय मामिला तथा स्थानीय मन्त्रालयले सम्पूर्ण स्थानीय निकायहरुलाई आफु अन्तरगतका शैक्षिक संस्थाहरुमा पुस्तकालय दिवस मनाउन सुचना जारी गरेकोमा सरकारले पनि केही ध्यान पुर्‍याउन थालेको आभास हुन्छ । तर यस चितवनमा वि.सं. २०७० सालदेखि एकनारायण पौडेलको अध्यक्षतामा एक पुस्तकालय तदर्थ समिति क्रियाशील छ ।
चितवन पुस्तकालय संघको नेतृत्बमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान र रामेश्वर सार्बजनिक पुस्तकालयको संयुक्त आयोजनामा रामेश्वर सार्बजनिक पुस्तकालय भरतपर ०२ क्षेत्रपुर  चितवनमा मैले पढेको पुस्तक र त्यसले पारेको प्रभाब भन्ने वारेमा अनुभव साटा साट गर्दे  बिबिध कार्यक्र्रमका साथ पुस्तकालय दिवस  मनाउँदै छौँ ।अन्तमा आज राष्ट्रिय पुस्तकालय दिवस अवसरमा हामी चितवनबासीहरु पनि पुस्तकालयको सञ्चालन, विस्तार, व्यवस्थापन र प्रयोगलाई आत्मसात गर्दै अध्ययन संस्कृतिको विकासमा अघि बढौं ।सम्पूर्ण पुस्तकालय प्रेमी पाठक वर्गहरुमा २०८० सालको पुस्तकालय दिवसको उपलक्ष्यमा हार्दिेक  मंगलमय शुभकामना ।
स्रोतः अनलाइन पत्रपत्रिका, पुराना लेखहरु
(लेखक चितवन जिल्ला पुस्तकालय संघ जिल्ला तदर्थ समितिका अध्यक्ष हुन् ।)
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट