स्वास्थ्य मन्त्री जोशीको सय दिनका उपलब्धि सार्वजनिक

हेटौंडा, १३ भदौ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत जेठ ७ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जोशीले बुधबार पत्रकार सम्मेलनमार्फत् सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

निःशुल्क स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेर नागरिकको बीमा गर्ने मन्त्रालयले काम अघि बढाएको उनले बताए । यस क्रममा प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क गरेको मन्त्री जोशीले जानकारी दिए । मन्त्री जोशीले भदौ १ गतेदेखि मन्त्रालय अन्तर्गतका १३ वटा प्रादेशिक अस्पतालको आइसियु र क्याबिन बाहेकका ८११ शय्या निःशुल्क सेवा उपलब्धतालाई प्रमुख उपलब्धिको रुपमा लिएका छन् ।

प्रदेशका सबै अस्पतालमा विपन्न असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनु, प्रदेशमा सञ्चालित सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सवारी निःशुल्क पार्किङ व्यवस्था, प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निःशुल्क रिह्याविटेशन र फिजियोथेरापी सेवा उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् ।

प्रदेशका लोपोन्मुख तथा सीमान्तकृत जाति तथा आश्रममा आश्रित असहाय ६३७ परिवारको २५ लाख ८६ हजार रुपैयाँ लागतमा निःशुल्क स्वास्थ्य बीमा गर्नुलाई पनि उपलब्धि भनिएको छ । मन्त्रालय तथा सरोकारवाला निकायहरुको सहभागितामा ‘सबै नीतिमा स्वास्थ्य निर्देशिका’ को मस्यौदा तयार, भदौ ५ गते ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८०’ मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएको उनले आफ्नो १०० दिनको उपलब्धिका रुपमा लिएका छन् ।
मन्त्री जोशीले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी थप कार्य योजना तयार गरेका छन् । चालु आर्थिक वर्षमा एक प्रदेश निर्वाचन क्षेत्र, एक अस्पताल सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि ११ करोड ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय तहका स्वास्थ्य संस्था सबलीकरण कार्यक्रमका लागि १० करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा सहज स्वास्थ्य सेवा प्रदान गर्न हब तथा स्याटेलाइट अस्पतालहरुको सञ्जाल निर्माण गर्ने, प्रदेशमा आवश्यक आयुर्वेद औषधीमा आत्मनिर्भर हुनको लागि आयुर्वेद औषधी उत्पादन केन्द्रको क्षमता अभिवृद्धि गरी मापदण्ड अनुसारको औषधी उत्पादन गर्ने योजना छ ।
मानव अंग प्रत्यारोपण केन्द्रसँगको समन्वयमा मिर्गौला प्रत्यारोपण सेवा हेटौडा अस्पतालमा सुरुवात गर्ने, सीमान्तकृत एवं लोपोन्मुख जाति मातृ तथा बाल स्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई ५ हजार उत्प्रेरणा खर्च प्रदान गर्ने, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गर्ने योजना रहेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत प्रदेश स्तरमा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनको लागि विभिन्न शैक्षिक कार्यक्रम अनुसन्धान प्रोत्साहन कार्यक्रम, एक वर्षे एनएस थेसिया टेक्निसियन कार्यक्रम सञ्चालन, प्रादेशिक अस्पतालको उपचार व्यवस्थापन निर्देशिका कार्यान्वयनमा ल्याउने, प्रदेश जनसंख्या नीति तर्जुमा गर्ने, अस्पतालमा मिर्गौला डायलसिस सेवा स्थापना तथा सञ्चालन गर्ने लगायतका योजना कार्यान्वयन गर्ने योजना छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट