देवचुली, १३ भदौ ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको पदाधिकारीको शपथ ग्रहण सम्पन्न भएको छ । देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापालाई शपथ गराएका हुन् । शपथ ग्रहण पश्चात नव नियुक्त अध्यक्ष थापाले उपाध्यक्ष, सचिव तथा सदस्यहरुको शपथ गराएका हुन् ।
देवचुली नगरपालिका कार्यपालिकाको बैठकबाट थापाको अध्यक्षतामा देवचुली नगरपालिकाको युवा तथा खेलकुद विकास ऐन, २०८० अनुसार युवा तथा खेलकुद समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा अमर घर्ती मगर, सचिव प्रकाश काफ्ले, सदस्यहरुमा अनुपलाल श्रेष्ठ, विदारीलाल तामाङ्ग, अशोक अधिकारी, बेलबहादुर बिक, मधुकर सुवेदी, दुर्गा पौडेल, जानुका थापा, चिरञ्जीवी पाण्डे, ढुण्डिराज केसी, राजेन्द्रबहादुर परियार रहेका छन् । समितिको पदावधि तीन वर्षको हुनेछ ।
देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले नव गठित युवा तथा खेलकुद विकास समितिले देवचुली नगरपालिकामा युवा तथा खेलकुदको क्षेत्र गर्नुपर्ने धेरै काम रहेकोले कार्ययोजना बनाई निरन्तर युवा सशक्तीकरण तथा खेलका कार्यक्रम आयोजना गर्नुपर्ने बताए । युवा सशक्तीकरणका कार्यक्रम संचालन गर्ने, प्रतिभाशाली खेलाडीहरुलाई खेलमा आकर्षित बनाउने, नगरमा भएका खेलाडीहरुको मनोभावना उच्च राख्ने, समय अनुसार खेलको कार्यक्रम तय गर्नुपर्ने नगरप्रमुखले बताए । खेलकुदको विकासका लागि चासो लागेको बताउँदै नगरपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता पनि व्यक्त गरे ।
शपथ ग्रहण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, देवचुली ९ का वडा अध्यक्ष तथा खेलकुद समितिका संस्थापक अध्यक्ष बलिराम सापकोटा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण शिक्षा शाखाका देवराज काफ्लेले गरेका थिए ।





