गैंडाकोटका उद्यमी जोडीलाई तालिम

गैंडाकोट, १३ भदौ ।
गैंडाकोट नगरपालिका- १४ भावरमा महिला उद्यमी जोडी तालिम गरिएको छ । वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण परियोजनाको आयोजनामा शंखदेवी सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति र दुना टपरी महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि आइतबार र सोमबार तालिमको आयोजना गरिएको हो ।

तालिममा एक अर्काको लैङ्गिक भूमिका र क्षमताबारे जानकारी गराउने, उद्यमी महिलाहरुले सामना गरेका बाधा व्यवधान बारेमा विश्लेषण गर्ने र साझा बुझाइको विकास गराउन साथै परिवारको आर्थिक तथा सामाजिक समृद्धिका लागि पारस्परिक सहयोगका आधारहरु तय गरि योजना बनाउनका लागि तालिमको आयोजना गरिएको फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमलप्रसाद भण्डारीले जानकारी दिए ।

शंखदेवी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मेखबहादुर गन्द्रमा मगरले पहिलोचोटी श्रीमती सँगै तालिम लिएको बताए । दुवैजना सँगै तालिम लिँदा एकआपसमा समझदारी गरी पारिवारिक जीवन सञ्चालन गर्न सहज हुने उनले बताए । ‘पहिलो दिनको तालिम सकिएपछि दुवै जना मिलेर घरको काम गरेको र त्यसरी काम गर्न पाउँदा आनन्द आउने रहेछ’ उनले भने ।

मेखबहादुर मात्रै होइन वन उपभोक्ता समितिका सदस्य गंगा कंडेलको पनि अनुभुति उस्तै रहेको छ । अहिलेसम्म लिएका तालिम मध्ये यस तालिम फरक भएको उनले बताइन् । दुई दिनसम्म फरक विषयवस्तुमा भर्खरै वैदेशिक रोजगारबाट घर आएका श्रीमानसँगै तालिम लिन पुगेकी उनले दुवैको सहकार्यबाट घर संचालन गर्न र सामाजिक कार्यमा लाग्न सहयोग पुग्ने बताइन् ।

महिला उद्यमी जुना कुँवरले वैदेशिक रोजगारमा भएका कारण आफ्नो जोडी ल्याउन नपाउँदा खल्लो लागेको भएता पनि तालिमको विषयवस्तु निकै प्रभावकारी रहेको बताइन् । सहजकर्ता नै जोडी भएकाले अझ सिकाइ सहज भएको उनले बताइन् ।

परियोजनाका योजना प्रमुख सिर्जना बरालले आफुहरुले सुरुमा परियोजनाकै समूहलाई जोडी तालिम प्रदान गरी समुदायमा नि यस्तो तालिम प्रभावकारी हुने अपेक्षा सहित तालिमको योजना बनाइएको बताइन् । महिला पुरुष एकै हौं भन्ने बुझाउन र एक अर्काप्रतिको बुझाइले सम्बन्ध सुधार गर्नका लागि तालिमले सहयोग गर्ने उनले बताइन् । महिला उद्यमी समूहले सञ्चालन गरेका उद्यमहरुलाई सबैको सहयोग आवश्यक रहेको उनले बताइन् ।

तालिममा महिला पुरुषले दिनभरि गरिने कामको समय तालिका निर्माण गरिएको, उत्पादनमुलक र अनुत्पादक कामहरुको बारेमा छ्लफल गरिएको, महिला पुरुषको अधिकार/ नियन्त्रण, श्रीमानले श्रीमती प्रति गरेका अपेक्षाहरु र श्रीमतीले श्रीमान प्रति गरेका अपेक्षाहरु, उद्यम संचालनमा आउने सामाजिक, नीतिगत र पारिवारिक बाधा व्यवधान ,महिला उद्यमी समूहको कार्ययोजनालगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा जोडी प्रशिक्षक सावित्रा घिमिरे र कमलप्रसाद भण्डारीले सहजीकरण गरेका थिए ।

उद्यमी महिलाहरूले उत्पादन गरेका सामग्रीको प्रचारप्रसार तथा बजार विस्तारमा सहयोग गर्नुपर्ने दुना टपरी महिला उद्यमी समूहका अध्यक्ष राममाया ढेँगा मगरले बताइन् । तालिममा सामुदायिक वनका सचिव पीताम्बर पाण्डेले तालिममा सिकेका कुराहरूलाई समुदायमा पुर्‍याउने र महिला उद्यमी समुहलाई उद्यम सञ्चालन सहयोग गर्ने बताए ।

तालिममा फरेष्ट एक्सन नेपालका प्रमुख अनुसन्धानकर्ता कन्चन लामाले महिलाहरुले उद्यम सञ्चालन गर्दा घरबाट पनि सहयोग आवश्यक हुने बताइन् । परियोजना सञ्चालनपश्चात महिलाहरूको आर्थिक सशक्तीकरण सँगै नेतृत्व विकास भएको पाएको उनले बताइन् ।

नवलपुरको देवचुली र गैंडाकोट नगरपालिकाका २ /२ वटा सामुदायिक वनका महिलाहरुका लागि फरेष्ट एक्सन नेपाल, हिमवन्ती नेपाल, पारिवारिक निजी वन संघ, नेपाल वन पैदावर उद्योग महासंघ नेपालले वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजना संचालन गरेका छन् । २०७८ सालबाट सुरु गरिएको परियोजना २०८० चैत महिनासम्म सञ्चालनमा गरिनेछ । तालिममा सामुदायिक वन समितिका पदाधिकारी र उद्यमी महिला समूहका जोडी, परियोजना सञ्चालन संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट