भरतपुर, १३ भदौ ।
रोटर्याक्ट क्लब अफ भरतपुरको १९ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मलेवा पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा रोटर्याक्टर लवि तिवारीको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई रोटर्याक्टर स्वरुप तिवारीको अध्यक्षतामा रहेको पुरानो कार्यसमितिले कार्यकाल हस्तान्तरण गरेको हो ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विशेष अतिथिका रुपमा कृषि तथा वन विश्वविद्यालयका पूर्वउपकुलपति साथै रोटरी क्लब अफ भरतपुरका संस्थापक निर्वाचित अध्यक्ष प्राडा ईश्वरीप्रसाद ढकालको उपस्थिति रहेको थियो । सहायक डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर सुनिल घिमिरे, डिस्ट्रिक्ट ३२९२ का सचिव रोटर्याक्टर सुसन धिताल, डिस्ट्रिक्ट रोटर्याक्ट कमिटिका सदस्य रोटर्याक्टर गोविन्द पराजुली, जोन १४ का जोनल रोटर्याक्ट रिप्रिजेन्टेटिभ रोटर्याक्टर पुजन लामिछाने साथै रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रोटरियन विवेक श्रेष्ठ अतिथिका रुपमा सहभागी थिए ।
रोटर्याक्टर सन्ध्या सुवेदीले स्वागत मन्तव्य राखेर सुरु गरेको उक्त कार्यक्रमको संचालन रोटर्याक्टर दीपा मेहता र प्रवेश मिश्रले गरेका थिए । कार्यक्रममा नृत्यमार्फत स्वागत गरिएको थियो । सोही औपचारिक कार्यक्रमका बीच नयाँ कार्यसमितिका सदस्यले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । साथै क्लबका नयाँ सदस्यहरुका लागि पनि शपथग्रहणको कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा क्लबका सदस्यहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रमको क्रममा अतिथिहरुले संयुक्त रुपमा रोटर्याक्ट क्लब अफ भरतपुरको वार्षिक पुस्तिका `यात्रा´ को विमोचन गरेको क्लबका सम्पादक रोटर्याक्टर सुशान्त रेग्मीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर अधिकारीले रोटर्याक्ट क्लबको गठन र यसमा सक्रिय सहभागिताले युवावर्गमा अनुशासन, नेतृत्व क्षमता र समाजसेवामा थप टेवा पुगेको बताए । साथै आउने दिनहरुमा सामाजिक हितका कामहरुमा रोटर्याक्ट क्लब अफ भरतपुरसँग हातेमालो गर्दै अघि बढने प्रतिबद्धता समेत जनाए । विशेष अतिथि प्राडा ढकालले विगतका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नवगठित कार्यसमितिका अध्यक्षलगायत सबै पदाधीकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।





