गैंडाकोट, १२ भदौ
खानेकुराको सम्बन्ध मानसिक स्वास्थ्यसँग जोडिएको बताउने डा. अरुणा उप्रेती जन्मदिनमा काटिने केकलाई मन्दविष मान्छिन् । पेयपदार्थका नाममा पिइने चिनीपानी र तयारी खानेकुराका नाममा खाइने पत्रुखानाको विरोध गर्दै आएकी डा. उप्रेतीको भावनासँग मिल्दोजुल्दो काम गर्ने विद्यालय गैंडाकोटमा भेटिएको छ । 
‘हाम्रो विद्यालयमा जन्मदिनमा केक काट्न पाइँदैन, चकलेट बाँड्न पाइँदैन’ विद्यालयका प्राचार्य हिरालाल अर्यालले भने, ‘हाम्रो विद्यालय गुलियोमुक्त विद्यालय हो ।’ यो गुलियोमुक्त विद्यालयको नाम गैंडाकोट इंग्लिस स्कुल हो, जुन गैंडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको छ । यो विद्यालय गैंडाकोट नगर क्षेत्रका २० वटा संस्थागत विद्यालयमध्ये क वर्गको एकमात्र विद्यालय हो ।
गैंडाकोट नगर कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखाले भदौ पहिलो साता गैंडाकोट इंग्लिस स्कुललाई क वर्गको घोषणा गरेको थियो । २०६२ सालमा तत्कालीन गैंडाकोट आदर्श गाउँ विकास समिति वडा नम्बर २ मा स्थापना भएको यस विद्यालयले माध्यमिक तहको अनुमति प्राप्त गरेको थियो । २०६९ सालमा पहिलो ब्याच एसएलसीमा सहभागी गराएको यस विद्यालयलाई सफलताको उचाईमा पु¥याउन २०७२ सालबाट फेरिएको नयाँ व्यवस्थापनले भूमिका खेलेको छ । त्यतिबेला अढाई सय विद्यार्थी रहेको यो विद्यालयमा अहिले डे केयरदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी संख्या एक हजार तीन सय पुगेको प्राचार्य अर्याल बताउँछन् । उनका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरेर एक सय नौ जना कार्यरत छन् ।
नयाँ व्यवस्थापनले काम सुरु गरेकै वर्ष २०७२ सालमा गैंडाकोट नगरपालिकाद्वारा पहिलो बालमैत्री तथा वातावरणमैत्री विद्यालय घोषित यस विद्यालयले ब्रिटिस काउन्सिलबाट २०७४ साल र २०७७ सालमा अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरिसकेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भण्डारीले बालमैत्री तथा वातावरणमैत्री यस विद्यालयलाई देशकै अब्बल विद्यालय बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । एक्काइसौँ शताब्दीको आवश्यकता अनुसार विश्वव्यापी नागरिक तयार पार्नु यस विद्यालयको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।





