भरतपुर, १२ भदौ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले देशको मुहार बदल्न नेताहरुमा प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक रहेको बताएका छन् । नेतृत्व वर्गमा नातागोता र आफ्नो गुट उपगुट हेर्ने गलत प्रचलन रहेको बताउँदै रिजालले देश बनाउन योग्यता र क्षमताको कदर गर्दै सहकार्य आवश्यक रहेको बताएका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले मंगलबार अतिथि पार्टी प्यालेस, मंगलपुरमा आयोजना गरेको बृहत् बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै डा.रिजालले भने – `हाम्रो सोच र चिन्तन दीर्घकालीन पनि छैन । योग्यता भन्दा पनि गुट उपगुट हेर्ने प्रचलन रहेको छ । यो अत्यन्तै गलत छ ।´ आफूले उत्पादन गरेका कृषि उत्पादन बाटोमा फालेर विरोध प्रदर्शन गरेको कुरालाई व्यङ्ग्य गर्दै दीर्घकालीन सोच राखेर उत्पादनमा जोड दिनुपर्ने रिजालको तर्क थियो । हामीले चुड्कीको भरमा शासन व्यवस्था र शिक्षा नीति बदल्न नसक्ने भन्दै व्यक्तिको योग्यता र क्षमता हेर्नुपर्नेमा उनले जोड दिए । शिक्षा नीति विना कृषि क्रान्ती नहुने भन्दै डा. रिजालले भने – `आजको आवश्यकता भनेको पार्टीभित्र आस्था निर्माण गर्ने हो, पार्टी बदल्ने होइन।´
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली शिक्षा नीति खस्किनुमा हाम्रो चिन्तन कमजोर भएको बताए । `ऐले उच्च शिक्षा लिन बिदेशिनेको होड चलेको छ, तर हाम्रो प्राथमिकता अध्ययनमा भन्दा पनि पिआर लिनेमा छ ।´ कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो परिपाटीले देशको शिक्षा नीति र साक्षरता प्रतिशत बलियो हुन नसक्ने जिकिर गरे । काङ्ग्रेसले लडेर चितवनमा कृषि तथा वनविज्ञान विश्वविद्यालय बनाएको तर त्यसको नेतृत्व गरेर फाइदा लिन नसक्नु दुर्भाग्य रहेको उनको भनाई थियो । कृषि तथा वनविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई समय सापेक्ष शिक्षित र दीर्घकालीन सोच भएका भिजनरी विज्ञ बनाउनु आजको आवश्यकता रहेको समेत औंल्याए ।
त्यस्तै नेपाली काङ्ग्रेसका निवर्तमान अध्यक्ष जीतनारायण श्रेष्ठले नेपाली काङ्ग्रेसले इतिहास खोतल्नु आजको आवश्यकता रहेको बताए । इतिहासको कुरा त्यसले गर्छ जसको इतिहास छ भन्दै श्रेष्ठले गाउँगाउँमा खोलेको स्वास्थ्य संस्था, नेपालले सञ्चार जगतमा मारेको फड्को र शिक्षामा गरेको क्रान्तिको श्रेय नेपाली कांग्रेसलाई जाने भन्दै प्रशस्त कामहरु गरेको तर प्रचार गर्न नसकिएको बताए । चितवनमा नेविसंघको विरासत रामपुर क्याम्पसले मात्रै जोगाएकोमा उनले गर्व समेत गरे ।
कार्यक्रममा रामपुर क्याम्पसका संस्थापक रजिष्टार तथा महाधिवेसन प्रतिनिधि सूर्यकान्त घिमिरे, चितवन जिल्ला उपसभापति राजीव न्यौपाने, प्रवक्ता अनमोल अधिकारी, सचिव ध्रुव पोखरेल ,भरतपुर महानगर वडा नम्बर- १० का अध्यक्ष परमेश्वर खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम रामपुर क्याम्पस इकाइ कमिटीका सभापति सोमसिं ठकुरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. मिनेन्द्र रिजाल तथा विशिष्ठ अतिथिमा चितवन जिल्ला सभापति राजेश्वर खनालको उपस्थिति रहेको थियो ।
अध्ययन सकेका विद्यार्थीलाई बिदाइ
कृषि तथा वन विश्वविद्यालयमा अध्ययन सकेका विद्यार्थीलाई नेपाल विद्यार्थी संघले विदाई गरेको छ । विश्वविद्यालय अन्तर्गत रामपुरमा कृषि , भेटेरीनरी तथा मत्स्य संकायबाट स्नातक तह उत्तीर्ण भएकाहरुलाई नेविसंघको एकाई समितिले सुखद भविष्यको कामना सहित विदाई गरेको छ । मंगलवार नेविसंघले उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान सहित विदाइ गरेको हो । मंगलपुरमा विदाई कार्यक्रमको आयोजना गरिएको थियो । विज्ञको रुपमा तयार भएका विद्यार्थीलाई वैज्ञानिकको शुभकामना दिँदै विदाई गरेका थिए ।
इकाई सभापति सोमसिं ठकुरीले रामपुरमा शैक्षिक गुणस्तर , संस्कार र सद्भावको भावना साटासाट गरेर विदाई गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले विद्यार्थीलाई विदाई गरेका थिए । उनले दक्ष जनशक्ति नेपालमै रहनुपर्नेमा जोड दिँदै काँग्रेस त्यसैमा लागेको बताए ।
कार्यक्रममा पुगेका काँग्रेसका जिल्ला नेताहरुले शुभकामना दिएका थिए । विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा. सूर्यकान्त घिमिरे , नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं विश्वविद्यालयका उपप्राध्यापक सरोज रेग्मी, नेविसंघका केन्द्रीय सदस्य डा. मन्दीप पोखरेल, निवर्तमान इकाइ अध्यक्ष मिराज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।





