विद्यार्थीलाई कविता सिकाउँदै विनोदी

गैंडाकोट, १२ भदौ ।
गैंडाकोटका प्रसिद्ध कवि गोविन्दराज विनोदी भदौ ८ गते शुक्रबार र १० गते आइतबार स्मल हार्ट एकेडेमीका विद्यार्थीसँग सँगसँगै देखिए । एकेडेमीमा कक्षा ६ र ७ मा पढ्ने विद्यार्थीसँग कवि विनोदी सँगै देखिएका हुन् ।

दुई दिनसम्म विद्यार्थीका माझमा बसेर कवि विनोदीले उनीहरू कै लागि लेखिएका कविता सुनाए । कविता सँगसँगै कवि विनोदीले कविताको संरचनाका बारेमा पनि चर्चा गरे । कविताका हरफहरू दिएर त्यसलाई थप गर्दै कविता लेख्न पनि सिकाए । विद्यार्थीहरू पनि कवि विनोदीका मीठामीठा कविता सुनेर फुरुङ्ग हुँदै कविता लेख्न कस्सिए ।

कक्षा-६ की छात्रा सिमोन्सा घिमिरेले कवि विनोदीले सिकाए अनुसार कविता लेख्न कोसिस गरिन् । त्यसपछि हात उठाएर कवि विनोदीकै छेउमा उभिएर साथीहरूलाई सुनाइन् ।

हाम्रो देश नेपाल
सुन्दर शान्त विशाल
चन्द्र र सूर्य एकै ठाउँ
फरफरायो झण्डामा
………
अरु देशका मानिसले रकेट पनि उडाए
हाम्रो देशका मानिसले साइकल मात्रै गुडाए ।

सिमोन्सा जस्तै अरु विद्यार्थीले पनि कविता कोर्ने कोसिस गरे । कसैले २ लाइन लेखे भने भने कसैले ४ लाइन, ६ लाइन, ८ लाइन र १० लाइनका रचना गरे । छात्रछात्राले आमा, पृथ्वी, हावापानी, प्रकृतिको वर्णन गर्दै कविता प्रयास गरे र साथीहरूलाई सुनाए ।

स्मल हार्ट एकेडेमी यस क्षेत्रको उत्कृष्ट आधारभूत विद्यालय हो । यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गर्दछ । गैंडाकोट नगरपालिकाले नगर क्षेत्रमा रहेका संस्थागत विद्यालयलाई गुणस्तरीयताका आधारमा वर्गीकरण गर्दा यो विद्यालय आधारभूत तह तर्फको उत्कृष्ट मापन भएको हो । विद्यालयले विद्यार्थीलाई सिकाइ सहजीकरणका लागि अपनाउने अतिरिक्त क्रियाकलाप प्रभावकारी भए, नभएको आधारमा नगरपालिकाले विद्यालयलाई वर्गीकरण गर्दछ । हालै सार्वजनिक वर्गीकरणमा गैंडाकोट-४ स्थित स्मल हार्ट एकेडेमी नगर क्षेत्रका आधारभूत विद्यालय मध्ये उत्कृष्ट सूचीमा छ । समग्रमा यस एकेडेमी ख बर्गमा वर्गीकरणमा परेको छ ।

कविता कार्यशालामा कविता सिकाउन आएका विनोदीले विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापले बालबालिकालाई नराम्रो बाटोमा लाग्नबाट जोगाउन सकिने बताए । `घरको वरिपरिको वातावरण जस्तो छ, सन्तान त्यस्तै बन्ने न हुन् । वरिपरिको वातावरणमा बालबालिकाले जे देख्छन्, त्यसैको सिको गर्ने न हुन्´, विनोदीले भने ।

घरमा अभिभावकले पनि किताब पढ्ने गरेको खण्डमा बालबालिकाले पनि त्यही सिक्ने विनोदीले बताए । `अभिभावकले किताब समातेको देखे छोराछोरीले त्यही सिक्छन्, मोबाइलमा रमाएको अनि मुस्कुराएको देखेपछि, उनीहरू पनि त्यस्तै खोज्छन्´, विनोदीले भने । घरमा अनि विद्यालयमा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सधैं लगाउन सके उनीहरू अझै सिर्जनशील बन्न सक्ने विनोदीले बताए ।

एकेडमीका प्रधानाध्यापक निर्मल पाण्डेले स्थापना कालदेखि नै एकेडेमीलाई बालमैत्री बनाइएको दावी गरे । `हामीले विद्यार्थीलाई पाठ्यक्रमका किताबमा मात्रै सिमित गराउँदैनौँ´, पाण्डेले भने – `चाडपर्व, मेला अवसरमा पनि हामीले विद्यार्थीलाई तिनै गतिविधिमा सहभागी गराएर व्यवहारिक ज्ञान दिने कोसिस गरेका हुन्छौँ ।´ रोपाइँमा खेतमै लगेर धान रोप्न, खाजा खाना पकाउन, लुगा सिलाउन, नाच्न, गाउन सिकाउने जस्ता व्यवहारिक कुरा पनि आफ्नो नियमित पाठ्यक्रममा राखेको पाण्डेले बताए । आफ्नो विद्यालयमा विद्यार्थीलाई किताबको भारी सहितको झोला बोक्ने बाध्यता हटाइएको पनि उनले बताए । `कक्षा ३ सम्म झोला नै नबोक्ने गरि पढाइलाई अगाडि बढाउन लागेका छौँ । शुक्रबारको दिनमा कसैले पनि झोला बोक्न पर्दैन, विद्यार्थीहरू हाँस्दै खेल्दै विद्यालय आऊन्, पढुन्, खेलुन्, नाचुन्, सिकुन् अनि हाँस्दै खेल्दै घर जाउन्´, पाण्डेले भने ।
कविता लेख्न सिकेका विद्यार्थीलाई १ महिनाजति यसैमा अभ्यास गराइने र त्यसपछि कार्यशाला मार्फत नै कथा र निबन्ध लेख्न पनि सिकाइने योजना रहेको प्रधानाध्यापक पाण्डेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट