भरतपुर, ८ भदौ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बृहत सरसफाई अभियान एक वर्षसम्म निरन्तर चल्ने बताएकी छन् । अभियान भरतपुर- १२ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको गोन्द्राङबाट सुरु भएको हो ।
शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानको उद्घाटन गर्दै प्रमुख दाहालले वडास्तरदेखि नगरस्तरसम्म सरसफाई समिति निर्माण गरी अभियान सञ्चालन हुने उल्लेख गरिन् । `यसको तयारी पनि पूरा भएको छ´–उनले भनिन् ।
भरतपुर महानरपालिकाको कार्यपालिका बैठकले हरेक महिनाको दुई वटा शुक्रबार सरसफाई गर्ने निर्णय पास भएको छ ।
`भरतपुरमा विकास पर्याप्त भएकै छ, अब हरियाली प्रर्वद्धनमा हाम्रो जोड रहन्छ´, प्रमुख दाहालले भनिन् । भरतपुरलाई स्वच्छ हराभरा बनाउने विगतको निरन्तरता रहेको प्रमुख दाहालको भनाई छ ।
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष-२०२४ लाई लक्षित गरी सरसफाईलाई प्राथामिकतामा राखेर काम गरी रहेको छ । महानगरपालिकाले महिनाको पहिलो र अन्तिम शुक्रबार अनिवार्य रुपमा सरसफाई अभियान चलाउने गरी अगाडि बढेको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताए । सभ्य र सुन्दर भरतपुर निर्माण गर्न वृक्षरोपण कार्यक्रमलाई विषेश जोड दिई सडकको दाँयाबायाँ वृक्षरोपण गर्ने कार्य अगाडि बढिरहेको उनले बताए ।
भरतपुरलाई हरित सहर बनाउने कार्यमा सबै जनाले हातेमालो गर्न आवश्यक रहेको बताए । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्की, विभिन्न संघ संस्था प्रतिनिधिको उपस्थिति रहेको थियो ।





