देवचुलीमा डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतना

देवचुली, ८ भदौ ।
देवचुली नगरपालिकामा डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबारदेखि अभियानको रुपमा नै सचेतना कार्यक्रम सुरु गरिएको हो ।

बुधबार देवचुली १४ र १५, बिहीबार देवचुली १०,१२ र १३ र शुक्रबार देवचुली ९ मा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रत्येक वडामा टोल विकास संस्थाका पदाधिकारी र सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना तथा `लामखुट्टेको लार्भा खोजी नष्ट गरौं´ अभियानका बारेमा अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा डेंगी रोग के हो ? कसरी सर्दछ र यसको रोकथाम तथा नियन्त्रणका विषयमा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ , स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पीताम्बर भुर्तेल र स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत शिव पराजुलीले सहजीकरण गरेका थिए । अभिमुखीकरण पछि प्रत्येक टोल सुधार समितिलाई सरसफाइ कार्यक्रम संचालन गर्नका लागि पञ्जा र मास्क दिइएको थियो ।

पछिल्लो समय देवचुलीका ५ जना डेंगी रोगबाट संक्रमित भएको र अन्य व्यक्तिलाई रोग लाग्नबाट जोगाउनका लागि सचेतना कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाका प्रत्येक वडामा सचेतना कार्यक्रम गरि टोल सुधार समितिमार्फत प्रत्येक टोलमा सरसफाइ कार्यक्रम संचालन गरिने उनले बताए ।

डेंगी लागेपछि वान्ता हुने, शरीर दुख्ने आँखाको नानी दुख्नेलगायतको लक्ष्य देखा पर्ने साथै एक वर्ष मुनिका बालबालिका, गर्भवती महिला र सुगरलगायतका अन्य बिरामीहरुलाई बढी असर गर्ने शाखा प्रमुख श्रेष्ठले बताए ।

घरवरिपरी पानी जमेको ठाउँहरू, घरको वरीपरी राखिएको टायर, फूलमा राखेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्ने बताउँदै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पुर्न उनले अनुरोध गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट