भरतपुर, ६ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेसका लागि कुनै पनि चुनाव लड्न गठबन्धन आवश्यक नरहेको पौडेलको भनाइ छ ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको महानगर सम्मेलनलाई मंगलबार भरतपुरमा सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले सरकार भ्रष्टाचारको जालोबाट पन्छिन नमिल्ने तर्क राखे । भ्रष्टाचारको जालो पन्छाउन नेपाली कांग्रेस अग्रसर रहेको उल्लेख गर्दै पौडेलले सरकार पनि यो विषयमा गम्भीर हुनुपर्ने बताए । ‘भ्रष्टाचारको विषयमा नेपाली कांग्रेस जहाँ र जस्तोसुकै अवस्थामा पनि उभिन तयार छ’ पौडेलले भने ।
नेता पौडेलले पार्टीको पद्धति नै खराब भएकोप्रति संकेत गर्दै पद्धति नै गुटउपगुट बनाउने खालको रहेको बताए । उनले यो पद्धति नहटेसम्म गुटबन्दीको अन्त्य नहुने बताए । ‘अब नयाँ पद्धतिको विकास गराई आमूल परिवर्तन ल्याउन जरुरी छ’ पौडेलले भने ।
नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गठबन्धनका कारण पार्टीलाई काम गर्न अप्ठ्यारो भएको टिप्पणी गरे । उनले सुशासन कायम गर्न र गराउन नेपाली कांग्रेस कटिबद्ध रहेको तर त्यसलाई अगाडि बढाउने सवालमा गठबन्धन तगारोको रुपमा रहेको बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी अब नयाँ शिराबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । ‘पार्टीभित्र अब मित्रताको व्यवहार हुन जरुरी छ’ सभापति खनालले भने ।
नेपाली कांग्रेस महानगर सभापति चित्रसेन अधिकारीले महानगर सम्मेलन पार्टीको सिपाहीका लागि कोसेढुंगा सावित हुने बताए । सम्मेलनले नेपाली कांग्रेसको मर्म र सिद्धान्तलाई आत्मसात गरेर भावी दिनहरुमा समाजमा सुशासन कायम गराउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
सम्मेलनमा नगर सचिव कृष्णप्रसाद बगालेले सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन विष्णुप्रसाद कँडेलले प्रस्तुत गरेका थिए ।
महानगर सम्मेलनमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, बागमती प्रदेश सांसद बिनु रायमाझी, महाधिवेशन प्रतिनिधि पार्वती शाह, महानगर समितिका निवर्तमान सभापति भरत अधिकारी, जनप्रतिनिधिहरुको तर्फबाट भरतपुर १७ का वडाध्यक्ष ललितमान तामाङ, पार्टीको वडा नम्बर ४ का सभापति नारायण अधिकारीलगायतले बोलेका थिए ।





