माडीमा बोक्सीविरुद्धको वृत्तचित्र `अग्निदहन´ प्रदर्शन

माडी, २ भदौ ।
माडीमा बोक्सीविरुद्धको वृत्तचित्र अग्निदहन प्रदर्शन गरिएको छ । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बुद्ध टोलविकास संस्था बरुवाको सहकार्यमा वृत्तचित्र देखाएको हो । सोमेश्वर माविको सभाहलमा विद्यार्थी र स्थानीयलाई वृत्तचित्र देखाइएको थियो ।

बोक्सा बोक्सीको आरोप लगाउने, क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्ने, यातना दिने जस्ता कुप्रथा रोकथामका लागि सचेतना फैलाउन कार्यक्रम गरिएको हो । बुद्ध टोलविकास संस्थाका अध्यक्ष ऋषिराम काफ्लेले भ्रम हटाउँदै बोक्सी हुँदैनन् भन्ने चेतना गाउँटोलमा फैलाउन आवश्यक रहेको बताए । वृत्तचित्रको कथा, पटकथा, संवाद लोकमणि पौडेलले लेखेका हुन् । घनश्याम लामिछानेको निर्देशन रहेको वृत्तचित्रको परिकल्पना कोविदशरण उपाध्यायले गरेका हुन् ।

अभियानका अध्यक्ष कोविदशरण उपाध्यायले बोक्सी विरुद्ध बनेको ऐेन २०७२ का प्रावधान, सजाय, क्षतिपूर्तिको व्यवस्थाबारे जानकारी गराएका थिए । बोक्सीको आरोप सम्बन्धि कसुरमा प्रकृति हेरेर ६ महिनादेखि ८ वर्षसम्म सजाय, १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । अंगभंग भएमा सजायमा थप १० प्रतिशत सजाय हुनेछ । पीडितलाई पीडकले मनासिव क्षतिपूर्ति दिने, सम्पूर्ण उपचार खर्च व्योहोर्नुपर्ने व्यवस्था ऐनमा छ । प्रतिष्ठानले बोक्सी कुप्रथा विरुद्धको सचेतनामुलक शिशामुलक राष्ट्रव्यापी अभियान चलाइरहेको छ । माडीको बघौडा, वसन्तपुरचोक, बरुवामा घुम्ती सिनेमा देखाइएको हो ।

काठमाडौं जाँदै गर्दा गजुरीमा महिलालाई कुटपिट भएको दृश्य देखेपछि रेडियो नेपालका गीतकार कोविदशरणले २०७१ मा अभियान सुरु गरेका थिए । संस्थाले पीडित महिलालाई सम्मान, हौसला बढाउने, आत्मनिर्भर बनाउने, बोक्सी विरुद्धको भ्रम हटाउन डकुमेन्ट्री देखाउने, चेतनामूलक कार्यक्रम गर्दै आएको छ । माडी-३ का वडाध्यक्ष दण्डपाणि पौडेलले कुरिति, कुप्रथा हटाउनुपर्ने बताए । “बोक्सी मसान हुँदैन”, उनले भने, “मनको डरले खान सक्छ, अब भ्रम फाल्नुपर्छ, सुरक्षित समाज बनाउनुपर्छ ।”

महिला स्वयंसेविका गंगा सापकोटाले मनको डरले डिप्रेशन हुने गरेकाले मनोपरामर्श फैलाउनुपर्ने बताइन् । माडीमा २०६८ फागुन ५ मा बघौडास्थित आफ्नो घरमा गोबर फाल्दै गरेकी ४० वर्षीया ढेँगनीदेवी महतोको बोक्सीकै आरोपमा हत्या भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट