नौलो विषयवस्तुमा आधारित ‘मोसो’ उपन्यासभित्रको दुईदिने यात्रा

नेपाली साहित्यमा अत्यन्त नौलो विषयवस्तुमा आधारित उपन्यास ‘मोसो’ अद्योपान्त पढेँ । चितवनका पत्रकार सूर्यप्रकाश कँडेलले लेखेको यो उपन्यास पढ्दा एउटा नवीन अनुभूतिले पूरा शरीर सर्सरायो । उपन्यासको मुख्य विषयवस्तु राज्यको चौथो अंग पत्रकारिता रहेछ । पूर्वीचितवनको चित्रसारीको मेला यस आख्यानको केन्द्रीय धुरी छ । आख्यानको प्रमुख पात्र पत्रकार एसपी चित्रसारीमा लाग्ने एकादशी मेलाको रिपोर्टिङका लागि त्यहाँ पुगेका छन् । इमानमा अडिएर भन्ने हो भने आत्मबोध शैलीको यस उपन्यासमा लेखक चौथो अंगभित्रका घिनलाग्दा र अमर्यादित चेष्टा तथा कृयाकलाप उधिन्ने क्रममा देखिन्छन् । आख्यानकार आफै पत्रकार भएकाले आफ्नो पेसाप्रति इमानदार सुसंवेद्य छन् ।

राज्यको चौथो अंग मानिएको पत्रकारिता शुद्ध व्यावसायिक, सच्चाई र इमानमा अडिएको हुनुपर्ने सैद्धान्तिक अनिवार्यता हो । तर वर्तमान परिवेशमा पत्रकारिताभित्र देखिएको तिक्तताले ‘मोसो’ जन्माउन लेखकलाई व्यथा लागेको भान हुन्छ । निख्खर सादा कागजमा लेखिने समाचार सामग्री जितबहादुरको जीवनगीतजस्तै निख्खर हुनुपर्छ । चित्रसेन बाबाको मन्दिर परिसरमा उखु बेच्ने जितबहादुरले कर्तव्यको विशाल परिधिभित्र आफूलाई एक जिम्मेवार बिक्रेताको रुपमा खडा गरेको छ । भलै उसले बेच्ने उखु अपेक्षितरुपमा ग्राह्य नहुन्, यसमा जितबहादुर निर्दोष ठहरिन्छ । उखु उखु नै हो, सुन्तला सुन्तला नै हो । यही भाव र स्वरुप समाचारभित्र हुनै पर्छ भन्ने लेखकको निक्र्यौल देखिन्छ ।

पत्रकारिता निरन्तर प्रवाहित भइरहने नदीजस्तो निर्मल र कञ्चन हुनुपर्छ । हो, यदाकदा समयको आरोहअवरोहले नदी धमिलिन पनि सक्छ, धमिलिन्छ । सङ्लिएर कञ्चन पनि हुन्छ । पत्रकारिताको स्वभाव पनि त्यसरी नै प्रवाहित हुनुपर्ने हो तर त्यसो हुन नसकेकोमा आख्यानकार ‘मोसो’ लाई कालो कथा भन्न रुचाउँछन् ।
इतिहासका विविध कालखण्डलाई स्मृतिको पर्दामा उतार्दा समयले लामो फड्को मारेको महसुस हुन्छ । वर्तमानको सञ्चार प्रविधि हेर्दा सत्य, निष्ठा र इमानदारी तथा समर्पण अविच्छिन्न छ तर इमान बेचेर निस्सा, प्रमाण नभएको सवारीसाधनलाई पत्रकारिताको दम्भ अनि शक्ति र साधनको जोडबलमा प्रशासनिक पद्धतिलाई दिइएको चुनौती आख्यानकारलाई मन पर्दैन । जुन सही र सत्य समाचार हो, त्यो सम्पादन हुँदैन । जुन समाचार करबलले सम्पादित हुन्छ, त्यसबाट समाज सुसूचित हुनुपर्ने बाध्यताको साङ्लो चुँडाल्ने जमर्को ‘मोसो’ ले गरेको छ ।

पत्रकारिता एउटा कठिन पेशा हो । र, पत्रकारिता अति सम्मानित र विशिष्टता वहन गर्नसक्ने पेशा हो । यसभित्र कानूनी, सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, साँस्कृतिक अर्थात् समाजका बहुआयामिक सन्दर्भहरु समाहित भएका हुन्छन् । खासगरी राजनीति र प्रशासनसँग पत्रकारिताको अन्योन्याश्रित स्वच्छ सम्बन्ध हुन्छ । तर ‘मोसो’ ले पत्रकारलाई सुक्ष्मातिसुक्ष्म छिद्रबाट छिर्न सक्ने र सिमलको भुवाजस्तो हलुङ्गो बनी स्वार्थ पूरा गर्ने असामाजिक तत्वकोरुपमा प्रष्ट्याएको छ ।

उपन्यास पढ्दा पाठकको कौतुहल बढ्ने घट्ने स्वाभाविक नै हो तर पाठकको मनमा चलिरहेको द्वन्द्वको भाव भने एकैनासको देखिँदैन । भगवान दाइको सत्य, निष्ठामा शंका छैन । उनमा इमानको बास छ । उनको लेखाईमा धरातलीय यथार्थ जे हो त्यही छ । र त हातमुख जोड्न एउटा होइन, एकभन्दा बढी मिडियामा काम गर्छन् । उनमा लोभ, लालच र इष्र्या छैन । भगवान दाइ पत्रकारिताको विधिविधान र स्थापित मान्यताप्रति निकै सचेत देखिन्छन् । बाध्यताको अत्यन्त कठोर साङ्लोमा बाँधिएका भगवान दाइजस्ता पत्रकारहरु प्रलोभनबाट निकै पर देखिन्छन् ।

चित्रसारी मेलाको वाक्कलाग्दो वातावरणबाट पन्छिएर एसपीसँग ‘दिउँसै टुच्च’ पार्न भगवान दाइ पनि सहमत हुन्छन् । यतिबेला पनि भगवान दाइ यस उपन्यासका नायक एसपीलाई व्यावसायिक शुद्धताको झझल्को दिन पछि पर्दैनन् । उनको निष्ठा सधैँ ‘भ्रष्ट समाजमा इमानको के अर्थ ?’ शब्दमा प्रकट भएको छ । पत्रकारिता जगतका एक्ला बृहस्पति भगवान दाइ इमानमा टेकेर आत्मविश्वासमा निर्भर देखिन्छन् ।
पत्रकार एसपी आफ्नो जीवनको प्रथम प्रहरदेखि स्वतन्त्रमात्र नभई स्वच्छन्द जीवनको उडानमा प्रस्तुत छ । चाहे उसको पहिलो प्रेम होस् वा अञ्चलाको यादमा होस् । आत्मबल कमजोर भएको एसपी कहिलेकाहीँ अञ्चलाको यादमा हराउँछ । ऊ नारी मनोविज्ञान बुझ्न नसक्ने कायर र लाक्षी बनेको छ ।
जीवनको लामो यात्रामा अञ्चला, विवाहित अञ्चला र अनामिका आजको समाजको पूर्ण विम्ब हुन् । अझ अनामिकारुपी अञ्चला यौनकर्मी महिलाहरुको पक्षमा वकालत गर्ने अभियन्ताको रुपमा आएकी छे । एसपी नकुल समग्र प्रहरी प्रशासनको प्रतिनिधि पात्र बनेको छ । एसपी नकुल सुरक्षा प्रशासनको एउटा झुसिलो डकार बनी असामान्य, अभद्र विम्बको रुपमा छ । करोडौँको लेनदेनपश्चात् अटुट सम्बन्ध स्थापित अमूक ठेकेदार र आरके एकापसमा मोसो दलादल यस उपन्यासको उपसंहार हो ।

‘मोसो’ पढ्दै जाँदा कतिपय प्रेम प्रसंगहरुसँग जम्काभेट हुन्छ । उपन्यासको प्रमुख पात्र एसपीले सहपाठी अञ्चलालाई प्रेमभाव पोखेको देखिन्छ । अञ्चला र ज्योति उसका सहपाठी हुन् तर एसपीको स्वभाव र चरित्र अनुसार उसले गरेको भनेको प्रमेमा प्रेम झल्किँदैन । भनिन्छ, जीवनमा प्रेम र ध्यान यी दुई शब्द निकै अर्थपूर्ण छन्, सार्थक छन् । यी शब्दहरुको भावको गहिराईमा पुग्दा अस्तित्वको मन्दिरका विराट द्वारको रुपमा छन् । त्यस मन्दिरमा प्रवेश गर्दा अहंकार त्यागिएको हुनुपर्छ, चाहे प्रेमले वा ध्यानले जसरी प्रवेश गरिएको भए पनि ।
एसपीले गर्न चाहेको प्रेममा प्रमिल रस देखिँदैन । प्रेममा त्याग, तपस्या, माया, करुणा देखिनु पर्छ । एसपीमा यी विशेषण खोज्दा पाइँदैन । एसपीको प्रेम अहंकारभित्र लुकेको तृष्णाको रुपमा छ । आवेगात्मक प्रेममा कामवासनाको मात्रा प्रबल हुँदा एसपीको प्रेम सधैँ रगतको अपेक्षा गर्ने चम्किलो तरबारको धारजस्तो देखिन्छ, जुन उपन्यास ‘मोसो’ को अँध्यारो पाटो हो ।

उपन्यासले औपन्यासिक मूल प्रवाह छोडेर रुमानी मार्गतर्फ प्रवृत्त हुँदा पाठकहरु अलमलमा पर्दछन् । सुहागरातमा बलात्कार र यौन बजारमा प्रवेशजस्ता परिच्छेदले उपन्यासको ओज, गरिमा र भारप्रति नाक खुम्च्याउन बाध्य पारेको यथार्थ पाठकहरुले महसुस गरेको हुनुपर्छ ।
सरल भाषामा अत्यन्त नूतन विषयलाई आख्यानीकरण गर्नु आख्यानकारको विशिष्टता हो । आगामी दिनमा लेखकलाई अझ नयाँ विषयवस्तु समेटिएको गहन कृतिको अपेक्षा गर्दै यो लेखोट छोटयाउँछु । नयाँ, कसैले कल्पना नगरेको विषयमा कलम चलाएर नेपाली साहित्यको पेरुङ्गोमा ‘मोसो’ दिने लेखक सूर्यप्रकाश सूर्यको प्रकाश झैँ चम्किऊन् । यिनै अपेक्षासहित धन्यवाद र शुभकामना ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट