भरतपुर, १७ साउन
वाल्मीकि शिक्षा सदन भरतपुरमा क्रियाशील इन्टर्याक्ट क्लब अफ वाल्मीकिको तेस्रो पदस्थापन कार्यक्रम मंगलबार साँझ गरिएको छ । उक्त कार्यक्रममा सुदिश पौडेलको अध्यक्षतामा रहेको नयाँ समितिलाई पुरानो समितिले कार्यकाल हस्तान्तरण गर्यो । यसअघि क्लब कुशल लामिछानेको नेतृत्वमा थियो ।
क्लबका अध्यक्ष सुदिश पौडेलको अध्यक्षता तथा डिस्ट्रिक्ट इन्टर्याक्ट रिप्रिजेन्टेटिभ विप्लव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रोटरी क्लब अफ नारायणगढ वर्ष २०२३–२४ का अध्यक्ष भोला लामिछाने वाल्मीकि शिक्षा सदनका प्राचार्य प्रदीप पौडेल विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष कुशल लामिछानेले २०२२–२३ मा आफू अध्यक्ष रहँदा क्लबले हासिल गरेका पुरस्कार, उपलव्धी, अन्तर्राष्ट्रिय अवार्डलगायत एक वर्षको अवधिको कार्यक्रमको जानकारी गराएका थिए ।
विशेष अतिथि लामिछानेले स्थापनाकालदेखि नै प्रशंसनीय काम गर्दै आइरहेको उल्लेख गर्दै आउँदो कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गरे ।
वाल्मीकि शिक्षा सदनका प्राचार्य पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान समितिलाई बधाई ज्ञापन गर्दै नयाँ समितिलाई अझै सिर्जनशील काम गर्न शुभकामना व्यक्त गरे । कार्यक्रममा वाल्मीकि कलेजका को–अर्डिनटर बिष्णु ढकाल, एकेडेमिक हेड प्रकाश सुवेदी, रोटरियन नारायण प्रधानलगायतको उपस्थिति रहेको थियो भने प्रनिस बराल्, अनुशा सापकोटा, आयुशा सिलवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लबका ८ जना सदस्यहरूलाई विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रम सहजकर्ता माल्भिका काफ्लेले जानकारी दिइन् ।





