भरतपुर, ९ साउन ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एक–आपसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका– २९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको रा.१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६ख ४९४२ नम्बरको ट्रक एक–आपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो । घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए ।
चालक र अर्का एकजनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए । दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ ।





