भरतपुर, २१ असार ।
भरतपुर महानगरपालिका वडा नम्बर २५ ले कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाइ सम्मान गरेको छ । बर्षमा तीन सय ६५ दिन खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाई कार्यलयले सम्मान गरेको हो । साना तथा ठुला अगुवा ६० जना तरकारी किसानहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई तरकारी खेतीमा प्रयोग हुने स्प्रे ट्यांकी, काँटा मेसिन र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
वडाभित्र रहेका कृषकहरुमध्ये उत्कृष्ट पशुपालक कृषकहरुलाई औषधि वितरण गर्नुको साथै सम्मान समेत गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत अति विपन्न वर्गका २१ जना कृषकहरुलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडा कार्यालयले वडाभित्र रहेका २१ वटा टोल विकास संस्थाहरुलाई कार्यालय प्रयोजनका लागि प्रयोग हुने दराज र फोहोर राख्ने डस्टबिन प्रदान गरेको छ । लामो समयसम्म वडाभित्र रहेका स्वास्थ्य संस्थामा काम गरेका ९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल, झोला र छातासहित बिदाइ गरेको छ ।
कृषकहरूलाई सम्मान गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले कृषि क्रान्तिको शुरूवात भएको टिप्पणी गरे । ‘भरतपुर महानगरपालिका पूर्वाधार विकाससँगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ’ उपप्रमुख अधिकारीले भने, ‘अब महानगर कृषि क्रान्तिमा अगाडि बढेको छ । कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जीवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उपप्रमुखले दाबी गरे ।
उनले प्रांगारिक खेतीमा विशेष जोड दिन सके मात्रै नगदेवालीले स्थान पाउने बताए । भरतपुर महानगरपालिका स्वास्थ्य र शिक्षामा हबको रुपमा विकास हुँदै गएको भन्दै पश्चिम भरतपुरलाई पनि कृषिको हब बनाउन सकिने आधारहरु रहेको उप प्रमुखको ठम्याइ रहेको छ ।
सम्मान कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेल, नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, योजना महाशाखा प्रमुख ओमप्रसाद पाण्डे, टोल विकास संस्थाहरुको तर्फबाट अरुण अधिकारी, महिला स्वास्थ्य स्वयंसेविका मुना सुवेदी, कृषक छविलाल न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।





