देवचुली, २१ असार ।
देवचुली नगरपालिकाले पाँच जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा बुधबार महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
देवचुली ७ की शुकमाया तामाङ, देवचुली १३ की शारदा अधिकारी, देवचुली १४ की शान्तिदेवी पौडेल, देवचुली १६ की देवीमाया मगर्नी र देवचुली ८ की स्व. नौमाया बाचेका श्रीमान दलबहादुर बाचेलाई नगरपालिकाले सम्मान गरेको हो । सम्मानित शुकमाया तामाङ, शान्तिदेवी पौडेल, देवीमाया मगर्नी ६० वर्ष उमेर पूरा गरी स्वयंसेविकाबाट राजीनामा दिएका थिए भने नौमाया बाचेको मृत्यु भएको र शारदा अधिकारीले स्वेच्छिक राजीनामा दिएकी हुन् । पाँचै जनालाई प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ताद्वारा टीका , खादा र मायाको चिनोसहित सम्मान गरिएको हो । सम्मानितहरुलाई नगद रु ३० हजार समेत प्रदान गरिएको थियो ।
आफ्नो लामो समय समुदायमा स्वयंसेवक भएर बिताएको, वडाका धेरै आमा बच्चालाई सहयोग गर्ने अवसर पाएकोले सदैव आफूले गरेको कामले गौरवान्वित गराउने सम्मानित स्वयंसेविका शुकमाया तामाङले बताईन् । स्वास्थ्य स्वयंसेविकाहरुका लागि आफूले नगरपालिकासँग राखेको अनुरोध पूरा गरिदिन समेत तामाङले अनुरोध गरिन् ।
देवचुली नगरपालिकाका विभिन्न अभियान सफल पार्न स्वास्थ्य स्वयंसेविकाहरुले महत्त्वपूर्ण भूमिका खेलेको र नगरले आगामी दिनमा स्वास्थ्य स्वयंसेविकाहरुका समस्याहरु समाधानका लागि सहयोग गर्ने नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताए ।
देवचुली नगरपालिकामा ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुबाट निरन्तर नगरका विभिन्न अभियानहरुमा सहयोग भईरहेको स्वागतका क्रममा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको अध्यक्षता भएको कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले गरेका थिए ।





