भरतपुर, २० असार ।
भरतपुर महानगरपालिकाले आगामी चार वर्षभित्र सिङ्गो महानगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुसार धमाधम केही वडालाई बालमैत्री घोषणा गरिरहेको छ । आर्थिक वर्ष २०८३÷०८४ सम्ममा महानगरका २९ वटै वडालाई बालमैत्री बनाउने महानगरपालिको तयारी छ । यसका लागि महानगरपालिकाले २६ बुँदे घोषणापत्र जारी गरिसकेको छ ।
महानगरले बुधबार निकै तामझामका साथ वडा नम्बर २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय बाल अधिकार समितिका संयोजक नगर उपप्रमुख चित्रसेन अधिकारीले एक समारोहबिच वडा नम्बर २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गरेका हुन् ।
उपप्रमुख अधिकारीले हाम्रो भरतपुर राम्रो भरतपुर बनाउने उद्देश्यले महानगरका सबै वडाहरु बालमैत्री वडाको रुपमा घोषणा गरिँदै जाने बताए । ‘अब एकपछि अर्काे गर्दै क्रमशः महानगरका सबै वडा बिस्तारै बालमैत्री घोषणा हुने छन्’ उपप्रमुख अधिकारीले भने, ‘अहिले भरतपुर महानगरपालिकाले एक दुई वटा वडालाई बालमैत्री घोषणा गरिरहेको छ । अब छिट्टै नै २९ वटै वडालाई बालमैत्री घोषणा गर्ने गरी महानगर अगाडि बढेको छ । हामी हाम्रो महानगरलाई सुन्दर, शान्त, भयरहित साथै बालमैत्री महानगरको रुपमा हेर्न चाहन्छौं ।’
‘भरतपुर महानगरपालिका बागमती प्रदेशकै सम्भवतः पहिलो बालमैत्री महानगरको रुपमा घोषणा हुनेछ’ नगर उपप्रमुख अधिकारीले भने, ‘घोषणा गर्नु महत्वपूर्ण पक्ष होइन । त्यसपछिको व्यवस्थापन पक्ष अझ महत्वपूर्ण र अर्थपूर्ण रहने देखिन्छ ।’
‘बालमैत्री वडा घोषणा कार्यक्रम हाम्रो अभियान हो’ वडा अध्यक्ष दीपक दवाडीले भने, ‘यो अभियानमा तपाईं हामी सबै जुट्न जरुरी छ ।’ सबै जनप्रतिनिधि र आमनागरिकले यस अभियानलाई आफ्नै सोचेर काम नगरेसम्म अभियानले पूर्णता नपाउने अध्यक्ष दवाडीले बताए । वडा नम्बर २३ मा हाल दुई हजार ५ सय ५६ जना बालबालिका छन् ।
‘बालमैत्री वडा घोषणा हुनलाई बालबालिकाको क्षेत्रमा रहेका विभिन्न ५१ वटा सूचकहरु पूरा गर्नु पर्छ’ महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुशीला वाग्लेले भनिन्, ‘बालमैत्री वडा घोषणा हुन पाँच वर्षमुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पूर्णरुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्री संरचनाहरु निर्माण भएको हुनुपर्नेलगायत ५१ वटा सूचक पार गरेको हुनुपर्छ ।’
भरतपुर महानगरपालिकाले हाल अभिभावकविहीन तथा कुनै पनि सहारा नभएका ११ जना बालबालिकाहरुलाई प्रदेश सरकारको आर्थिक सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस वर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेव ढकालले जानकारी दिए ।
कार्यक्रममा भरतपुर १० का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक परमेश्वर खनाल, १३ का अध्यक्ष प्रकाश दवाडी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की, २३ की वडा सदस्य अञ्जु परियार, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेल, योजना महाशाखा प्रमुख ओमप्रसाद पाण्डे, विभिन्न पार्टीका प्रतिनिधिहरु, नगर बाल संजालकी सचिव स्वस्तिका पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।





