विराटनगर, १८ असार ।
नेपाली कांग्रेस नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता रहेका थापा मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
सोमबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै थापा कोशी प्रदेशका पाँचौँ मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्न लागेका थापालाई उनको दल कांग्रेसका अलवा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले समर्थन दिनेछन् । थापासँग ४७ सांसद हुनेछन् ।
कांग्रेस (२९), माओवादी केन्द्र (१३), एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) गरी थापासँग ४७ सांसद हुनेछन् । यो भनेको ९३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न मिल्ने बहुमत हो ।
यसअघि कोही प्रदेश सभाको पहिलो कार्यकालमा एमालेका शेरधन राई, भीम आचार्य र एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए ।





