भरतपुर, १६ असार ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा चनौलीले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उपशाखाको शनिबार सम्पन्न २९ औं साधारणसभामा सो एम्बुलेन्स सञ्चालनमा ल्याईएको हो ।
बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठले एम्बुलेन्सको शुभारम्भ गरेकी हुन् । भन्सार छुट बाहेक रु. २१ लाखमा एम्बुलेन्स खरिद गरिएको हो । उपशाखा सभापति ओमप्रसाद लामिछानेका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २० ले रु. ५ लाख, वडा नम्बर १८ ले रु.३ लाख र बाँकी रकम रेडक्रसको आन्तरिक स्रोतबाट जुटाएर एम्बुलेन्स खरिद गरिएको हो ।
सो अवसरमा श्रेष्ठले आगामी दिनमा रेडक्रसलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताएकी छन् । उनले बागमती प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिइन् ।
साधारणसभामा सचिव चुडामणि पौडेलको प्रगति प्रतिवेदन र लेखा समिति संयोजक महेन्द्र गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।





