पोखरा, १६ असार ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।
शनिवार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ। हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । त्यसका लागि नयाँ ढंगले सोच्दै छौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ।’
प्रचण्डले जनताले आफूहरूमाथि राखेको आशा र भरोसाको तागतलाई देश निर्माणको पक्षमा लगाउनुपर्ने बताए ।
प्रचण्डले प्राकृतिक साधन स्रोतको उपयोग गरेर देशको समुन्नतिको पक्षमा फड्को हान्ने मन भएको पनि बताएका छन् ।
उनले विशेष महाधिवेशन गरेर पार्टी पुनर्निर्माणको काम अगाडि बढ्ने बताए । प्रचण्डले सरकारका कामको स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।





