भरतपुर, १५ असार ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले धान दिवसको अवसरमा रोपाइँ गरेका छन् । २०औँ राष्ट्रिय धान दिवसको अवसरमा जगतपुरमा ओलीले धान रोपेका हुन्।
चितवनको केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरिएको हो ।
जगतपुर जानू अगाडि अध्यक्ष ओली राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरिएको र्यालीमा सहभागी भएका छन् । र्याली गेस्टहाउस चौरदेखि चौबीसकोठीसम्म भएको थियो । र्यालीमा पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।
र्यालीपछि आयोजित सभामा बोल्दै ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताएका छन् ।
‘हामीलाई पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो देश कृषिप्रधान देश हो, कृषिप्रधान देश भएको हुनाले नाकाबन्दीजस्तो चिजमा पनि, जो हामी प्रायः सबै चिज बाहिरबाट ल्याउँछौँ। हामीलाई खान पुग्ने झन्डै झन्डै अन्न यहीँ उत्पादन हुन्छ । सब्जी यहीँ उत्पादन हुन्छ, फलफूल, माछामासु, दूध । त्यसैले त्यस नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन’, ओलीले भने ।
खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उनको भनाइ थियो । उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिए ।
कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने उनले बताए ।
‘कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ । उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधिकरण गर्नुपर्छ’, ओलीले भने ।
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गरेका छन् । कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय खुमलटारमा शुक्रबार बिहान मन्त्री भुसालले धान रोपेका थिए ।





