मनोरञ्जन क्षेत्रमार्फत मानव बेचबिखन

भरतपुर, १४ असार
भरतपुर महानगरपालिका पछिल्लो समय मनोरञ्जन क्षेत्रमार्फत हुने मानव बेचबिखनमा नेपालकै तेस्रो स्थानमा रहेको देखिएको छ । काठमाडौँ र पोखरापछिको मुख्य मनोरञ्जन व्यवसायको क्षेत्रमा भरतपुर महानगरपालिका रहेकोे एक तथ्यांकले देखाएको छ ।

सामरी उत्थान सेवा नामक संस्थाले बिहीबार भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धी एकदिने गोष्ठीमा भरतपुर महानगरपालिका मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखनमा काठमाडौ र पोखरा पछिको तेस्रो स्थानमा रहेको पाइएको हो ।

संस्थाले २०७८ सालमा चितवनको राप्ती, माडी र भरतपुर क्षेत्रका ४ सय २० घरधुरीमा सर्वेक्षण गरेको थियोे । जस अनुसार त्यस क्षेत्रबाट ९ दशमलव ४ प्रतिशत महिला तथा बालिका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेको पाइएको छ । जसमध्ये ८५ दशमलव ५ प्रतिशत श्रमिकहरुले आफूहरुमाथि शोषण हुने गरेको बताएका छन् । सर्वेक्षण अनुसार यस क्षेत्रमा १३ दशमलव ६ प्रतिशत श्रमिकहरु १० देखि १४ वर्षका रहेको देखिएको छ ।

नेपालमा मानव बेचबिखनबाट प्रभावित हुनेहरुमध्ये ६८ दशमलव ४९ प्रतिशत घटनाहरु आन्तरिक मानव बेचबिखनसँग सम्बन्धित रहेको सामरी उत्थान सेवाकी अध्यक्ष विमला गायकले बताइन् । ‘आन्तरिक मानव बेचबिखनको सबैभन्दा ठुलो क्षेत्र वयस्क मनोरञ्जन क्षेत्र भएको छ, यसले नेपालमा हुने मानव बेचबिखनको सबैभन्दा धेरै अर्थात १८ प्रतिशत हिस्सा ओगटेको छ’ अध्यक्ष गायकले भनिन् ।

पछिल्लो समय होटल तथा रेस्टुरेन्ट, खाजा घर, दोहोरी साँझ, गजल घर, डान्स बार, हुक्का बार, मसाज सेन्टरहरु आन्तरिक मानव बेचबिखनका क्षेत्र बन्दै गएका छन् । जिल्लामा करिब ६ सय ५० वटा होटल, भरतपुर र रत्ननगरमा करिब ५ सय वटा होटल र झण्डै ७ सय ५० वटा रेस्टुरेन्ट रहेको संस्थाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । भरतपुर र रत्ननगरमा ९ वटा दोहोरी साँझ, ३ वटा मसाज सेन्टर र एउटा क्लब संचालनमा रहेका छन् ।

नेपालका प्रमुख शहरहरुमा क्याबिन रेस्टुरेन्ट, दोहोरी साँझ, डान्स बार, मसाज सेन्टर, पार्लरलगायतमा यौन शोषणका गतिविधिहरु बढ्दै गएको र बढ्दो वयस्क मनोरञ्जन व्यवसायले आन्तरिक मानव बेचबिखन तथा ओसारपसारका घटनामा वृद्धि भएको सामरी उत्थान सेवाका कार्यक्रम संयोजक शिवहरि ज्ञवालीले बताए । त्यस्ता व्यवसायमा कम उमेरका किशोरकिशोरीहरुको उल्लेख्य सहभागिता रहेको, श्रम शोषण, यौन दुव्र्यवहार, मौखिक दुव्र्यवहार, बलात्कार प्रयास, शारीरिक सम्पर्कका लागि अनुरोध, अनुचित स्पर्शजस्ता कार्यहरु हुने गरेको ज्ञवालीको भनाइ छ ।

गोष्ठीमा बोल्दै भरतपुर महानगरपालिका नगर उपप्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखनको डरलाग्दो अवस्थालाई समयमै समाधान गर्न नसके यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्ने बताए । उपप्रमुख अधिकारीले मानव बेचबिखनको अवस्था दिन प्रतिदिन भयावह बन्दै गएको भन्दै यसको समाधानका निम्ति चितवनका सातै पालिका जिम्मेवार बन्नु पर्नेमा जोड दिए । उनले मनोरञ्जन क्षेत्रमार्फत हुने मानव बेचबिखन पछिल्ला दिनहरुमा थप पेचिलो बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

मानव बेचबिखनका घटना न्यूनीकरणका लागि नेपाल सरकारले दीर्घकालीन रुपमा गरिबी नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने, सचेतना फैलाउनुका साथै सीमानाकामा कडाइ गर्ने जस्ता कार्यलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाई शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छाविपरीत काम गर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रूपमा लिने गरिन्छ । हाल मानव बेचबिखन नेपालको मात्र नभएर विश्वव्यापी समस्या बनेको छ । नेपाल जस्तो विकासोन्मुख र बेरोजगार बढी भएको देशमा अझ बढी समस्या देखा परेको हो । मानव बेचबिखन मानवअधिकार र मानव सम्मान एवं प्रतिष्ठाको गम्भीर उल्लंघन हो । गरिबी, बेरोजगारी, असमानता, सामाजिक विभेद, लैङ्गिक विभेद, अस्थिरता, हिंसा, न्यून चेतनास्तर, सामाजिक सशक्तिकरणको अभाव, पारिवारिक विघटन आदिलाई मानव बेचबिखनको मुख्य कारकका रुपमा लिन सकिन्छ ।
भरतपुर महानगरपालिका नगर उपप्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा चितवनका सातै पालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक, सदस्यहरु, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियोे ।

सामरी उत्थान सेवाले चितवन जिल्लाको माडी नगरपालिका र भरतपुर महानगरपालिकामा मनोरञ्जन क्षेत्रमा हुने शोषण र मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि जिविकोपार्जन सुरक्षा परियोजना संचालन गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट