महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित

भरतपुर, १२ असार ।
नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न भएको छ । महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित आयव्ययसहितको ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट पारित गरेको हो ।

१३औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० पारित गरेको छ । नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान धुर्मुससुन्तली फाउण्डेसनलाई अनुदानका रुपमा भुक्तानी गर्ने सर्वसम्मतले पारित गरेको छ ।

नगर सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सबै नगरवासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताइन् । भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाँउबाट सकारात्मक र रचनात्मक प्रतिस्पर्धा गर्न आवश्यक रहेको उनको भनाई थियो । नीति तथा कार्यक्रम पूर्णरुपमा कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको प्रमुख दाहालले बताइन् ।

आइतबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँट तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेका थिए । यसको व्यवस्थापन केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट १ अर्ब ६५ करोड तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन् ।

अन्तर सरकारी अख्तियारी शीर्षकमा महानगरपालिकाले १ अर्ब १० करोड रुपैयाँ अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट खर्च तथा लेखांकनको प्रबन्ध मिलाउने बताइएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।

सभामा १५ जना सदस्यले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भएगरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए । महानगरपालिका प्रमुख दाहाल, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले विषयगत क्षेत्रबाट आएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट