काठमाडौँ, १२ असार ।
चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसलकै चर्चित चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले १२औँ वार्षिकोत्सव काठमाडौँमा मनाएको छ । छापा पत्रकारिताको दुनियाँमा एक दशकदेखि अनवरत रूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित रंगीन साप्ताहिक पत्रिका अहिले इचितवन खबर अनलाइन पनि प्रकाशन हुँदै आएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुशील कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव ई. अतुल कोइरालाले विभिन्न चुनौतीका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गरे । कार्यक्रमका विशिष्ट अतिथि नेपाली चलचित्र जगतकी पहिलो महिला विशिष्ट हास्य कलाकार बसुन्धरा भुषालले नियमित प्रकाशनमा रहेको चितवन खबर पत्रिकाको थप निरन्तरताको लागि शुभकामना दिइन् ।
नेपाली चलचित्र जगतका चर्चित अभिनेता तथा निर्देशक सरोज खनालले मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिताबीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । उनले विगत एक दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए ।
नेपाली चलचित्र जगतकी सदाबहार अभिनेत्री करिश्मा मानान्धरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गरिन् । उनले आगामी दिनमा पत्रिकाले विकृति विसंगतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताइन् ।
नेपाली सांगितिक क्षेत्रका वरिष्ठ गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिँदै पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गरे ।
कार्यक्रममा समाजसेवी नारायण अधिकारीलाई सम्मान गरिएको छ । अधिकारीले नेपालका विभिन्न क्षेत्रमा सामाजिक कामका लागि सहयोग गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाई र अशक्त वृद्धवृद्धाहरुका लागि अधिकारीले विभिन्न समयमा सहयोग गर्दै आएका छन् ।
पत्रिकाका निर्देशक गोविन्दराज पाण्डेले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जित गर्दै लैजाने बताए । निर्देशक गोविन्दराज पाण्डेले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको बताए ।
कार्यक्रममा लक्की मिडिया हाउस चितवनको टिम लगायत नागरिक अगुवा, पत्रकार, शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो ।





