चितवन, १० असार ।
रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार १३औं नगरसभामा नगरप्रमुख प्रल्हाद सापकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनले प्रस्तुत गरेको १६ वटा नीति तथा कार्यक्रममा नगरक्षेत्रका मुख्य सडक र चोकमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने कार्यक्रम पनि परेको छ । नीति तथा कार्यक्रममा सरसफाइ कार्यक्रमलाई प्राथमिकता दिँदै दिसाजन्य लेदो र ढल व्यवस्थापनसहित नगरगौरवको योजना कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । यस्तै सडक सञ्जालको विकास गरी रिङरोडको अवधारणालाई कार्यान्वयन गर्ने, पर्यटन प्रवर्द्धन गर्दै नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने, पञ्चकन्या सामुदायिक वनमा कृष्णसार राख्नका लागि पूर्वाधार बिस्तार गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा परेका छन् ।
सौराहालाई सौन्दर्यीकरण गर्न फुटपाथसहितको साइकल लेन निर्माण गरी सडकबत्ती जडान गर्ने र हरियाली पार्कलाई बहुउद्देश्यीय अवधारणाबाट सञ्चालन गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिएका छन् । यस्तै लौरीघोल र पञ्चनदीलाई व्यवस्थित गर्न पदमार्ग निर्माण गरी संरक्षण गर्ने, एक घर एक धाराको नीति अवलम्बन गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रमले लिएको छ ।
त्यसै गरी नगरसभामा नगर उपप्रमुख यादवप्रसाद पाठकले १ अर्ब ३३ करोड ७२ लाख ७३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । उपप्रमुख पाठकले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षमा आर्थिक विकासतर्फ रु। २ करोड ५ लाख ६५ हजार, सामाजिक विकासतर्फ रु. २ करोड ५७ लाख ६ हजार, पूर्वाधार विकासतर्फ रु. ३ करोड ८ लाख ४८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु. ८२ लाख २६ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु. ५१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ ।





