जन्मदिनमा विद्यार्थीलाई किताब

भरतपुर, ६ असार ।
जन्मदिन मनाउने आआफ्नै काइदा हुन्छ । साथीभाइ भेला हुने, खाजा खाने, रमाउने सामान्य काइदा हुन् । साहित्यकार प्राध्यापक रमेश प्रभात र कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजालले त्यसो गरेनन् । यी दुबै जनाले जन्मदिन मनाएका छन् स्कुले विद्यार्थीसँग अन्तरक्रिया गरेर । त्यही मेसोमा उनीहरूलाई ज्ञानवर्दक पुस्तक पनि बाँडेका छन् ।
बुधबार ६ असारमा एकैदिन परेको जन्मदिनमा यी दुबैले भरतपुर–२९, जुगेडीमा करिब ३ सय विद्यार्थीलाई उनीहरूको उमेर सुहाउँदो किताब ‘मुना’ र ‘युवामञ्च’ बाँडेका हुन् । आदिवासी जनजाति विद्यार्थी बाहुल्य कविलास माध्यमिक विद्यालयमा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई कक्षाकोठामै गएर ती दुई किताब वितरण गरिएको हो ।

सो क्रममा दुबै जनाले हरेक कक्षामा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । स्कुले बालबालिकाले उनीहरूलाई उपयोगी सामग्री समेटिएका किताब पाएपछि खुसी व्यक्त गरे । तिनीहरूमध्ये केहीले आफूलाई पनि साहित्यमा रुचि भएको र अब किताब पढ्ने बानी विकास गर्ने बताए ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा ज्ञान बढाउने अभियानमा लाग्नुपर्छ भन्ने अभिप्रायले विद्यार्थीमाझ आएको साहित्यकार प्रभातले बताए । `म विद्यार्थीसँगै हुने मान्छे´, उनले भने– `उनीहरूसँगै रमाइलो लाग्छ, झनै साहित्यिक किताब थमाउन पाउँदा त निकै खुसी छु ।´ उनी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा पढाउँछन् । विनोदबाबु रिजाल भने कविलास मावि कै शिक्षक हुन् ।

प्रभातलाई ज्ञान बाँड्न उत्प्रेरित गरेका हुन् साहित्यसेवी पुस्तक व्यवसायी लेखराम सापकोटाले । नारायणगढमा सम्पूर्ण किताब सञ्चालन गर्दै आएका सापकोटाले पछिल्लो समय विभिन्न व्यक्तिमार्फत विद्यार्थी जीवनका लागि उपयोगी किताब वितरण अभियान चलाइरहेका छन् । उनले जन्मदिनमा फजुल खर्च गरेर सिध्याइने पैसाको सदुपयोग किताब बाँडेर गर्नु अति नै उपयुक्त भएको बताए । `मैले त उहाँहरूलाई अनुरोध गर्ने हो´, उनले भने– `सबैजना तयार हुनुहुन्छ, कस्तो गज्जब भन्नुहुन्छ अनि कार्यक्रम सफल हुन्छ ।´
कविलास माविका प्रधानाध्यापक सीताराम मोक्तानले विद्यार्थीलाई पाठ्यक्रम बाहिरका किताबमा बानी गर्नका लागि यो अभियानले सहयोग गर्ने बताए । `सधैँ पाठ्यपुस्तकमा मात्रै भुल्नुपर्ने विद्यार्थीले बाहिरी किताब पाउँदा दिमाग फराकिलो बन्छ´, उनले भने– `यो अभियान पक्कै फलदायी हुनेछ ।´

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट