भरतपुर, ४ असार ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा कृषि सम्बन्धी क्षमता तथा सीप विकास तालिम कार्यक्रम सोमबार विजयनगरमा शुरु भएको छ । तीनदिने तालिमको उद्देश्य सहकारी संस्थाका सदस्यहरूलाई कृषिको क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपहरू प्रदान गर्ने रहेको छ ।
हंस बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष अमृतराज हमालको प्रमुख अतिथ्यतामा तालिम कार्यक्रम उदघाटन गरिएको थियो ।
प्रमुख अतिथि हमालले स्थानीय कृषि क्षेत्रमा परिवर्तन ल्याउने सम्भावनालाई जोड दिँदै तालिम कार्यक्रम आयोजना गरेकोमा संस्थाको सराहनीय कार्यको प्रशंसा गरे । उनले भने, ‘क्षमता विकासमा लगानी गर्नु हाम्रा कृषकहरूलाई सशक्तिकरण गर्नको लागि महत्वपूर्ण कदम हो । उनीहरूलाई ज्ञान र सीपले सुसज्जित गरेर हामी उनीहरूको जीविकोपार्जन बढाउन र हाम्रो समुदायको समग्र विकासमा योगदान दिन सक्छौं ।’
संस्थाकी सचिव शारदा शर्मा पौडेलले संचालन गरेको कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका संचालक सदस्य तथा विजयनगर सेवा केन्द्रका संयोजक ध्रुवकुमार ओझा, संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटा, सेवा केन्द्रका सदस्य रमा ढुंगानालगायत शुभकामना मन्तब्य राख्नु भएको थियो ।
संस्थाका ३० जना सदस्यको सहभागिता रहेको उक्त तालिमले कृषि सीप र अभ्यासहरू बढाउने अपेक्षा आयोजकले राखेको र आधुनिक खेती प्रविधिहरू, कुशल बाली व्यवस्थापन, माटोको उर्वरता वृद्धि, कीट नियन्त्रण उपायहरू, कृषि औजार र मेसिनरीहरूको उच्चतम उपयोग बारे तालिम केन्द्रित रहने तालिमका प्रमुख प्रशिक्षक अञ्जु शाहले बताइन् ।
संस्थामा हाल ४ हजार ६ सय जना सदस्य रहेका छन् भने संस्थाले ४ वटा सेवाकेन्द्रमार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेको छ ।





