भरतपुर, ३१ जेठ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुट्टो आश्वासन दिएर अलमलमा पार्न नहुने बताएकी छन् ।
भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुख दाहालले बोलेको कुरा पुरा नहुने भए किन आश्वासन दिने भन्दै प्रश्न गरिन् ।
‘जनप्रतिनिधिले बोलेको कुरा पुरा गर्नुपर्छ’ उनले भनिन् ‘हामी जे बोल्छौँ, त्यो पूरा गर्छौं । पूरा नहुने कुरा गर्न हुन्न भन्ने मेरो मन्यता हो ।’
भरतपुरलाई यो कार्यकालमा देशकै नमुना पालिकाको रुपमा स्थापित गर्ने संकल्प पूरा गर्ने प्रमुख दाहालको भनाई छ । उनले अबको ४ वर्ष कत्ति पनि अलमल नगरी भरतपुरको विकासमा अग्रसर रहने प्रतिवद्धता व्यक्त गरिन् ।
भरतपुरको विकासबाहेक मनमस्तिष्कमा कुनै पनि चाहना नरहेको भन्दै प्रमुख दाहालले भरतपुरलाई अब हरियाली र सौन्दर्यकरण गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गरिन् ।
नारायणीमा अहिले ५ वटा प्याकेजमा भइरहेको तटबन्धनले तटीय क्षेत्रमा बसोबास गर्ने जनताको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उनले बताइन् । उनले वर्षातको समयमा हुने बाढीको जोखिम अब सयौँ वर्षसम्मको लागि अन्त्य भएको जिकिर गरिन् ।
विगतमा बाढी आउँदा तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा कहाँ लैजाने भन्ने सास्ती हुने गरेकोले यस वर्षदेखि यो समस्या हटेको उनले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम रानामगरले भरतपुरको विकासको कार्यलाई अगाडि बढाउन सधैँ तत्पर रहने बताए । वडा अध्यक्ष मगरले आगामी योजनाहरु वडा तथा समग्र महानगरको आर्थिक वृद्धि गर्न सहयोग पुराउने धारणा राखे ।





