ढोँडेनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

गैंडाकोट, ३१ जेठ ।
गैंडाकोट नगरपालिका वडा नम्बर- ३ ढोंडेनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । स्थापना गरिएको पोष्ट इलाका प्रहरी कार्यालय गैंडाकोटको कार्यालयदेखि करिब १० किलामिटर उत्तरतर्फ पहाडी क्षेत्रमा पर्छ । कालिगण्डकी करिडोरअन्तगर्त पर्ने यस क्षेत्रमा करिब ५० किलोमिटरको दुरीसम्म प्रहरी कार्यालय स्थापना हुन सकेको थिएन ।

बुधबार एक कार्यक्रमबीच अस्थायी प्रहरी पोष्ट ढोँडेनी स्थापना गरिएको हो । गैंडाकोट- ३ ढोंडेनीस्थित वडा कार्यालय रहेको बहुउद्देश्यीय भवनमा प्रहरी पोष्ट रहेको छ । प्रहरी सहायक निरीक्षक नारायण रानाभाटको कमाण्डमा पोष्टमा १ जना ट्राफिक प्रहरी सहित ६ जना रहनेछन् । यो सँगै गैंडाकोटमा सुरक्षा निकायतर्फ इलाका प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्ट बेल्डिया, अस्थायी प्रहरी पोष्ट मौलाकालिका, अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोट र सशस्त्र सुरक्षा बेस क्याम्प रहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का निमित्त प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले पोष्ट स्थापनापछि अपराध तथा दुर्घटना न्यूनीकरणमा कमी आउने विश्वास व्यक्त गरे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले यस क्षेत्रमा प्रहरी कार्यालयको आवश्यकता देखेर नै प्रहरी पोष्ट स्थापना गरिएको बताए ।
गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले स्थानीयसँग समन्वयमा काम गर्न आग्रह गर्दै घरेलु हिंसा, दुर्घटना र अपराधका घटना कम हुने आशा व्यक्त गरिन् । गैंडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष शिवकान्त तिवारीले स्थापना गरिएको पोष्टले यस क्षेत्रमा शान्ति स्थापनामा सघाउ पुग्ने बताउँदै धन्यवाद व्यक्त गरे ।

कार्यक्रमममा सुरक्षा बेस क्याम्प पितौजीका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद खतिवडा, नेपाली सेनाको पर्यावरण गण कावासोतीका सेनानी गोविन्द नेपाली, इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक रीता पौडेललगायतको उपस्थिति रहेको थियो । वडा नम्बर-३ को कार्यालय ढोँडेनीमा भएको पोष्ट स्थापना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी वरिष्ठ नायब निरीक्षक मोहन थापाले गरेका थिए ।
गाउँमा प्रहरी चौकी नहुँदा सामान्य समस्या पर्दा समेत स्थानीयले जनप्रतिनिधि गुहार्ने गरेका थिए । पोस्ट स्थापनापछि स्थानीय खुसी देखिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट