खडेरीले मकै सुक्यो, अनिकालको चिन्ता

राप्ती, २९ जेठ ।
लामो समयदेखिको खडेरीले राप्ती नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् । लामो खडेरी र बढ्दो तापक्रमले राप्तीमा मकैका बोट सुक्न थालेका छन् भने धान खेतमा धाँजा फाट्न थालेको छ ।

खडेरीको कारणले विशेषगरी राप्तीका पहाडी भेगका किसानहरु मर्कामा परेका छन् । पानी नपर्नाले कतिपय किसानले मकै रोप्न पाएका छैनन् भने रोपेको मकै बारीमै सुक्दा घाँसको रुपमा प्रयोग गर्नु पर्ने बाध्यता बनेको छ खडेरीले अन्नबालीमा क्षति पुग्दा आउँदा दिनहरुमा भोकमरीको समस्या देखिन सक्ने भन्दै उनीहरु चिन्तित बनेका हुन् । राप्ती नगरपालिका अन्तर्गतका १३ वटा वडाहरु मध्ये पहाडी क्षेत्रका ९, १०, ११, १२ र १३ मा यो बेला मकै खेती हुन्छ । तर लामो समयदेखि पानी नपर्दा कतिपयले मकै लगाउन सकेका छैनन् । त्यस्तै मकै रोपिसकेको ठाउँमा पनि पानी नपर्दा बोट सुकेर मर्न थालेको किसानहरुको भनाइ छ ।

राप्ती नगरपालिका–११ का लीलबहादुर थिङले आफ्नो जग्गामा लगाइएको मकैको बोट सुकेर कामै नलाग्ने भएको बताए । ‘घोँगा लाग्ने बेलामा मकैका बोट नै सुके । पानी नपरेकोले तीन महिनाको मकैको बोट एक हात जति उचाइको पनि हुन सकेको छैन´, उनले भने ।

त्यस्तै राप्ती नगरपालिका- ९ का किसान भीमबहादुर श्रेष्ठको दुखेसो पनि उस्तै छ । खोला नजिकै घर तथा खेतबारी भए पनि खोलामा पानी छैन । आकाशे पानीमा भर पर्दा खडेरीले अनिकाल निम्त्याउने डर भएको उनी बताउँछन् । करिब ६ कठ्ठामा लगाएको मकै सुकेपछी अब के खाने भन्ने चिन्ता छ । नजिकै एक कठ्ठा जति अर्को बारी छ, जहाँ खानेपानीले सिंचाइ गरिएकोले अलि हरियो छ । तर मिटरमा एक हजार रुपैयाँ भन्दा बढी उठि सकेकोले अब के गर्ने भन्ने लागेको उनी बताउँछन् ।

पालिकाको पहाडी क्षेत्रका ५ वटा वडाको यतिबेला मुख्य खेती नै मकै हो । सुख्खा, भिरालो र रातोमाटो युक्त जमिनको बनौट भएकोले यस क्षेत्रमा अन्य खेती हुँदैन । सिमान्तकृत चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा अधिकांश किसानहरुको प्रमुख समस्या नै भोकमरी हो । राम्रै खेतीपाती हुँदा पनि ६ महिनालाई मात्रै खान पुग्ने भए पनि यो पटक भने पानी नपर्नाले वर्ष भरि नै भोकमरी चल्ने देखिएको छ । पानी पर्ने आशामा बारीको पाटाभरी डोकोमा बोकेर गोबर मल राखिएको छ । तर लामो समयदेखि खडेरी चलेकोले गोबर मल सुकेर कामै नलाग्ने भएको राप्ती- १२ का बिरमान चेपाङ बताउँछन् ।

राप्तीको रसौली, सुरखन्डी, जिम्लिङ, थाकलटार, किरनटार, चौघारा, यौरालीटार, हात्तीढापलगायतका ठाउँमा मकै खेती गरिएको छ । पालिकाको समथर भेगमा धेरै जसो चैते धानको खेती गरिएपनि केही ठाउँहरुमा भने तरकारी खेती गरिएको छ । तर पहाडी क्षेत्रमा भने यतिबेला मकै खेतीको विकल्प छैन । त्यही मकै पनि सुकेर जान थालेपछि किसानहरु इन्तु न चिन्तु बनेका छन् । भौगोलिक विकटताले गर्दा सिंचाइको सुबिधा पुर्‍याउन सकिएको छैन भने भूमिगत सिंचाइ यस क्षेत्रमा कल्पना बाहिरको कुरा हो । केही ठाउँमा खोलाको पानी लिफ्टिङ गर्न सकिने भए पनि विद्युत र बजेट अभावमा आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता भएको राप्ती नगरपालिका आर्थिक विकास समितिका संयोजक पूर्णप्रसाद आचार्यको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट