लण्डन, २८ जेठ ।
आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई २०९ रनले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको छ । टेस्टको पाँचौँ तथा अन्तिम आइतबार दिन भारत आफ्नो दोस्रो इनिङ्समा २३४ रनमा समेटिएपछि टेष्ट मेस (गदा) अस्ट्रेलियाले हात पारेको हो ।
भारतले खेल जित्न ४४४ रनको लक्ष्य पाएको थियो । दिनको खेल १६४ रनमा तीन विकेट गुमाएको अवस्थाबाट खेल्न सुरु गरेको उसले बाँकी जम्मा ७० रन बनाउन ७ विकेट खर्चिएको थियो । अस्ट्रेलियाका लागि स्कट बोलान्डले उत्कृष्ट बलिङ गरे । उनले ४६ रन खर्चिएर तीन विकेट लिए ।
भारतका लागि दोस्रो पारीमा विराट कोहलीले सर्वाधिक ४९ रन बनाउँदा आजिक्य रहाणे ४६ तथा कप्तान रोहित शर्मा ४३ रनमा आउट भए ।
अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा ४६९ रन बनाएको थियो भने दोस्रो पारी ८ विकेट गुमाएर २७० रन बनाएको अवस्थामा समाप्त घोषित गरेको थियो । उसका लागि म्यान अफ दि म्यान घोषित भएका ट्राभिस हेडले १६३ रनको योगदान गरेका थिए ।
पहिलो पारीमा पनि खराब प्रदर्शन गरेको भारत २९६ रनमा अलआउट भएको थियो ।
भारतले लगातार दोस्रो पटक आइसीसी टेष्ट च्याम्पियनसिपको फाइनल पुगेर पनि उपाधिविहीन हुन पुगेको हो । भारत सन् २०२१ को टेष्ट च्याम्पियनसिपमा न्यूजील्याण्डसँग पराजित भएको थियो ।





