अङ्कुरम्का विद्यार्थीले कार्यशालामा सिके कथा लेख्न

भरतपुर, २६ जेठ ।
भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीका विद्यार्थीले शुक्रबार विद्यालयमा कथा प्रस्तुत गरेका छन् । विद्यालयमा आयोजना गरिएको `बालकथा लेखन कार्यशाला´बाट अभ्यासस्वरुप लेखिएका प्रतिनिधि कथा उनीहरूले प्रस्तुत गरेका हुन् । ७ जना विद्यार्थीले विभिन्न शीर्षक र बिषयवस्तुका कथा आफ्ना साथीहरूलाई सुनाए ।

बाल साहित्यमा कलम चलाउँदै आएका विजयराज आचार्यले विद्यार्थीलाई कथा लेख्न सिकाएका हुन् । विद्यालयमै आएका प्रशिक्षक आचार्यले जेठ २१, २२ र २३ गते तीन दिन कक्षा ८ र ९ का विद्यार्थीलाई कथा लेखनको प्रशिक्षण दिएका थिए । त्यसैगरी कक्षा ६ र ७ का विद्यार्थीलाई आचार्यले जेठ २४, २५ र २६ गते कथा लेखनको प्रशिक्षण दिएका थिए ।

कार्यशालामा तीन दिन बिताएका विद्यार्थीले कथा कसरी लेख्ने भन्ने सिकेका थिए । प्रशिक्षक आचार्यले कथा लेख्ने तरिका सिकाए । कथामा समेट्नुपर्ने आधारभूत कुरा सिकाए ।
विद्यार्थीले आफ्नै घर र समाजका गतिविधिलाई कथामा उतारेका थिए । विद्यार्थीले बालकथा भन्दा पनि वयस्क कथा लेखेको प्रमुख अतिथि कर्णबहादुर बानियाँले बताए । `बालबालिकाले सिर्जना गरेका कथाहरू बालकथाका स्वरुपमा छैनन् । ८, ९ कक्षामा पढ्नेहरू हुर्किसकेका छन् , बाबुनानीका सिर्जना वयस्कहरूले लेख्ने जत्तिकै आएका छन्´, बानियाँले भने – `चितवनको सहरी क्षेत्रमा जन्मे हुर्केका बाबुनानी भएको हुँदा यिनीहरूको लेखनमा अभाव, दु:ख, करुणा नआएको हुनसक्छ ।´ लेखनलाई निरन्तरता दिनसके यी विद्यार्थीबाट राम्रा सिर्जना आउने संभावना रहेको बानियाँले बताए ।

कविता लम्साल, दिनिसा बिष्ट, जस्मी सापकोटा, दिपाली खतिवडा, ग्रीस्ना पाण्डे, आयुषा कुँवर र साइसा शर्मा गरी ७ जनाले कथा सुनाएका हुन् । कार्यशालामा ७० जनाले कथा लेखेका थिए । ती मध्येबाट छनोटमा परेका ७ जनालाई विद्यार्थीका माझ वाचन गर्न दिइएको विद्यालयका प्रधानाध्यापक सुमन पौडेलले बताए ।

त्यसैगरी उक्त कार्यक्रममा विद्यार्थीले कथा लेखनका अनुभवहरू सुनाएका थिए । नुच्छा श्रेष्ठ, रिहाना गैरे, युरिका पौडेल, आरोना बस्ताकोटी, निराजन पौडेल, श्रीमन रिजाल, प्रीसा न्यौपाने र बिराज पौडेलले कार्यशालामा सहभागी भै कथा लेख्न बस्दाका अनुभव साथीहरूलाई साटासाट गरेका थिए ।

कार्यक्रममा अतिथिका रूपमा सहभागी उदय अधिकारीले विद्यार्थी विद्यार्थीलाई कथा लेख्दा ख्याल गर्नुपर्ने कुराहरू सुझाएका थिए । `सानो विषयवस्तु समातेर त्यसैको सेरोफेरोमा कथा लेख्नुपर्छ´, अधिकारीले भने -`त्यसलाई लम्ब्याएर ब्याख्या गर्न थालियो भने त्यसको स्वरुप उपन्यासतिर पनि जान सक्छ । कथामा एउटा विषय मात्रै उठाएर त्यसको मात्रै प्रस्तुति दिन सकेमा सुन्दर कथा लेख्न सकिन्छ ।´ त्यसैगरी प्राध्यापक प्रेम सिग्देलले कुनै पनि विषयमा लेख्न उक्त विषयवस्तुको ज्ञान हुन जरुरी भएको बताउँदै विद्यार्थी जीवनमा सकेसम्म पढ्न आग्रह गरे । `धेरै पढ्नेले धेरै ज्ञान बटुल्छ, कुनै पनि विषयमा लेख्न, बोल्न सहज हुन्छ´, सिग्देलले भने ।

कथा वाचनको कार्यक्रमलाई विद्यार्थीहरू आरोही खनाल र प्रीन्सिका राईले सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट