गैंडाकोट, २६ जेठ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको ८ औं स्थापना दिवसका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला र २९ पुरुष सहित कुल ३१ युनिट रगत संकलन भएको गण्डकी प्रदेश अध्यक्ष एवं कार्यक्रमका संयोजक अमृत भट्टचनले बताए ।
अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा गार्हो भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव नहुन मद्दत पुगोस् भनी रक्तदान कार्यक्रमको आयोजना गरेकोमा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशलाई धन्यवाद दिँदै मन्तव्य राखेका थिए ।
संघको स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित भोलि शनिवार देवचुलीमा स्वास्थ्य शिविर समेत रहेकोे जिल्ला संघका महासचिव छवि कंडेलले जानकारी दिए । कार्यक्रम नेपाल उद्योग वाणिज्य संघ नवलपुरको सहजीकरणमा सम्पन्न भएको थियो ।





