इच्छाकामना, २५ जेठ ।
चितवनको इच्छाकामना गाउँपालिका- ५ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन:निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो ।
पुन:निर्माण सम्पन्न भएसँगै विधिवत रुपमा पूजाआजा गरि उद्घाटन गरी बिहिबारदेखि मन्दिरभित्रबाट पूजाआजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन:निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । अब भने भक्तजनहरुले भित्रैबाट पूजा गर्न पाइने छ ।
पुन:निर्माण गरिएको मन्दिरको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमकाबीच बिहिबार उद्घाटन गर्नुभएको हो । मन्दिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले प्रचार प्रसारमा जोड दिइने बताउनुभयो । यहाँ खानेपानीको व्यवस्था समेत भइसकेको बताउँदै आवश्यक पूर्वाधारहरु निर्माण गर्दै जाने बताउनुभयो । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उहाँले प्रचारप्रसारलाई जोड दिइने बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो- `मन्दिरमा खानेपानीको व्यवस्था गरिएको छ, जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ, गाउँपालिकाले प्रचारप्रसारमा पनि जोड दिइने छ ,मनकामकामना मन्दिर आउने भक्तजन पर्यटकहरुलाई इच्छाकामनासम्म आउने ल्याउनुपर्ने छ ।´
सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिने बताउनुभयो । साथै मन्दिर वरपर फागुन चैतमा ढकमक्क फुल्ने लाली गुराँसले पर्यटहरुलाई लोभ्याउने बताउनुभयो ।
बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानियको श्रमदान र चन्दादाताहरुको सहयोगमा रु २ करोड ४१ लाख ८८ हजार ८१ रुपैयाँ लागतमा मन्दिर पुनः निर्माण कार्य सम्पन्न भएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले बताउनुभयो ।
कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुन : निर्माण कार्य ढिला गरि सम्पन्न भएको मन्दिर समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । ।उहाँका अनुसार मन्दिरको वि.सं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको थियो । तत्कालीन बागमती प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्दिर पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीताकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडाध्यक्षलगायत जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी सञ्चारकर्मीलगायत स्थानीयको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई फूलको माला लगाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । मन्दिर सम्म सडक पुगेसँगै केही वर्षयता भक्तजनहरुको आवागमनमा बृद्धि भएको पुजारी गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।





