रत्ननगर, २५ जेठ ।
नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशन जेठ २६ र २७ गते रत्ननगरमा हुने भएको छ । महाधिवेशनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासचिव लक्ष्मीदेवी रावलले ११औँ राष्ट्रिय महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार वकिलमध्येबाट १ हजार ४०१ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिइन् ।
उनले अधिनायकवादविरुद्ध, प्रेस स्वतन्त्रता, विधिको शासनको पक्षमा वकालत गर्दै आएको डिएलए नेपालले तीन वर्षे कार्यकाल पूरा गरी नयाँ नेतृत्व चयन गर्ने बताइन् ।
डिएलए नेपालका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले संविधानवादमा विश्वास गर्ने आफ्नो संस्थाले सरकारका गैरकानुनी कार्यका विरुद्ध आवाज उठाउँदै आएको बताए । आगामी बार एसोसिएसनको निर्वाचनमा नेतृत्व हासिल गर्ने उद्देश्यका साथ महाधिवेशन आयोजना गरिएको बताए । महाधिवेशनमा सकभर उम्मेदवारबीच सहमति गरी सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास हुने उनले बताए ।





