भरतपुर, ८ चैत
भरतपुरमा रंगशाला बनाउने प्रयास गरेर असफल भएका अभियन्ता सिताराम कट्टेले धुर्मुसले रंगशाला अलपत्र परेदेखि आफू र आफ्नो परिवारमाथि निरन्तर मानसिक आक्रमण भइरहेको भन्दै आत्मदाह नै गर्ने अवस्थामा पुगेको बताएका छन् ।
रंगशालाको अपूरो संरचनालाई पृष्ठमा राखेर मंगलबार सार्वजनिक गरेको भिडियोमा उनले रंगशालाको आर्थिक पाटो सार्वजनिकरूपमा टुंग्याएर यो तनावबाट मुक्त गरिदिन उनले याचना गरेका छन् । “पवित्र सपना लिएर गरेको काममा मैले कुनै अनियमितता गरेको छैन”, उनले भनेका छन्– “मैले सबै हिसाब बुझाइसकेको छु, तर सरकारी निकायहरूले टुंग्याएर सार्वजनिक नगरिदिएकोले अवगाल ब्याहोरिरहेको छु ।”
विगत डेढ वर्षदेखि आफूले मानसिक यातना भोगिरहेको भन्दै उनले रंगशालाका लागि आएको पैसा हिनामिना गरेको पत्ता लागे रंगशाला निर्माणस्थलमै मारेर गाड्न चुनौती दिएका छन् । “डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको छु”, उनले भिडियोमा भनेका छन्– “हरेक सरकारी निकायको ढोका चहारिरहेको छु, लौ न मिलाइदिनुपर्यो भनिरहेको छु । तर, चारवटा समिति बनिसक्दा पनि यो विषय टुंगिएन । हामीले भनेको हिसाबकिताबमा विश्वास गर्नुभएको छैन भने कृपयाँ यहाँ आएरै काम हेरिदिनुहोला । यदि अनियमितता गरेको पत्ता लागे मलाई यहीँ मारिदिनुस्, यहीँ गाडिदिनुस् खाल्डो खनेर ।”
उनले रंगशाला बनाउन प्राविधिक वा व्यवस्थापकीय कुनै पनि समस्या नभएको तर आर्थिक स्रोत जुटाउन नसकेकोले बीचमा अलपत्र परेको बताए । करिब ५७ करोडको काम हुँदा १८ करोड ४३ लाख उधारो तिर्न बाँकी रहेको भन्दै उनले त्यो उधारो भुक्तानी गर्ने उपाय निकाली स्वामित्व लिन नेपाल सरकार र भरतपुर महानगरपालिकालाई पुनः आग्रह गरेका छन् ।
२०७५ माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनबीच रामपुरमा रहेको कृषि विश्वविद्यालयको जग्गामा रंगशाला बनाउने सम्झौतामा हस्ताक्षर भएको थियो । २ वर्षभित्र बनाएर भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने भनिए पनि गत वर्ष भदौसम्म एक तिहाइ काम सकिएपछि रंगशाला रोकिएको छ ।
तर, काम रोकिए पनि ‘छोडेर नभागेको’ धुर्मुसको दाबी छ । “हामी कहिँ भागेका छैनौँ”, उनले भिडियोमा भनेका छन्– “अझै पनि यहाँको संरचना कुरेर हामी नै बसिरहेका छौँ ।” गत वर्षको भदौमा काम रोकिएपछि धुर्मुसले भरतपुर महानगरलाई अहिलेको अवस्थामा रंगशाला सकारेर बाँकी काम पूरा गर्न भनेका थिए । गत वर्ष पुसमा नै भरतपुर महानगरमा उनले प्रस्ताव पेश गरेका थिए । तर, महानगरले सजिलै स्वामित्व सकारेन । महानगरले उधारो तिर्ने उपाय खोज्दैमा १ वर्षभन्दा बढी बिताइसकेको छ ।
महानगर प्रमुख रेनु दाहालले थुप्रै मञ्चहरूमा भन्दै आएकी छन्– “उधारो कसरी तिर्ने भन्ने उपयुक्त उपाय फेला पार्न सकिएको छैन । नत्र रंगशाला बनाउन सकिन्छ, ठूलो कुरा होइन ।” पछिल्लो समय नेपालले काठमाडौँमै भएको आइसीसी क्रिकेट लिग–२ मा अभूतपूर्व प्रदर्शन गरेपछि र त्यहाँ रुख चढेका दर्शकको फोटो भिडियो सार्वजनिक भएपछि झन् भरतपुरको रंगशाला बन्नुपर्ने आवाज उठिरहेको छ । महानगर प्रमुख दाहालले पनि फेरि दोहोर्याएकी छन्– “रंगशाला बन्छ, छिट्टै खुसीको खबर आउने छ ।”
तर, समस्या उही हो– यो उधारो भुक्तानी कसरी गर्ने ? धुर्मुस भन्छन्– “मैले मेरो व्यक्तिगत सम्पत्ति जोड्न उधारो गरेको होइन, पैसा दिन्छु भन्नेले दिएनन्, बोलेकोले वाचा पूरा गरेनन् अनि म के गरूँ ?” उनले सरकारी निकायले पनि बोलेको पैसा नदिएको गुनासो गरेका छन् । त्यस्तै निर्माणस्थलमा लगाइएको धनधान्याचल महायज्ञमा पनि ६९ करोड बोलेकाले ९ करोड मात्रै दिएको बताए । त्यस्तै प्रदेश सरकारले ३० करोड दिने भनेर ३ करोड मात्रै दिएको उनले बताए । भरतपुर महानगरले ८ करोड दिएको उनले भिडियोमा भनेका छन् ।




