भरतपुर, ७ चैत ।
निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।
आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ चैत ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलले नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ।
तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेका उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यस्तै वैसाख १० मा चितवन–२ मा पनि उपनिर्वाचन हुँदैछ । यहाँबाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएपछि यो क्षेत्र पनि खाली छ ।
आयोगको सोमबारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुटाएको हो ।





