भरतपुर, ४ चैत ।
लेखक सीताराम कोइराला सम्मानित भएका छन् । कोइरालाको हालै प्रकाशित कथासङ्ग्रह जेम्स बौलाएको दिनका लागि उनलाई सम्मान गरिएको हो । साहित्य सङ्गम चितवनले शनिबार एक कार्यक्रमको आयोजना गरि सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कारबाट कोइरालालाई सम्मान गरेको हो । कार्यक्रमका विशिष्ट अतिथि सनत रेग्मीले १५ हजार रुपैयाँ सहित सम्मानपत्रले कोइरालालाई सम्मान गरेका हुन् । स्रस्टा कोइरालाको व्यक्तित्व र कृतित्वका बारेमा समीक्षक उदय अधिकारीले बोलेका थिए ।
कार्यक्रममा उपन्यासकार रेशम विरहीको `कली´ उपन्यासमाथि विमर्श कार्यक्रम गरिएको थियो । समीक्षक कपिल अज्ञातले कलीमा भाषाको बलियो पकड भएको बताए । `कलीको भाषा मीठो छ, कथामा विविधता छ´, अज्ञातले भने – `पुस्तकमा समेटिएको कथाबाट अरु थुप्रै उपन्यास पनि लेखिन सक्ने आधारहरू छन् ।´
डाक्टर धनेश्वर भट्टराईले कलीमा समाज र दर्शन सँगसँगै राजनीतिक आन्दोलनलाई पनि उजागर गरिएको बताए । कलीलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ५५०/- रुपैयाँ छ ।





