भरतपुर, २ चैत
भरतपुरमा जारी प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९ ग्राहकमैत्री बनेको निष्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भइरहेको प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबर्द्धन मेला २०७९ को प्रदर्शनी समीक्षा कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो ।
स्वदेशी उत्पादन र स्वदेशी उद्योगको प्रवद्र्धनका लागि आयोजित मेलाका कारण सस्तो, आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता, चप्पलहरू ग्राहकको रोजाइमा परेका छन् । स्वदेशी उत्पादनलाई प्रवद्र्धनका लागि चितवन प्रशासन सदैव अग्रसर हुने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले चितवनको बजारमा कर छली गरेको र अण्डर बिलिङ गरेको समान बिक्री गर्न नपाउँदा व्यवसायीहरु अत्तालिएको बताए ।
मेलामा औसतमा दैनिक ५ हजार जनाका दरले हालसम्म करिब ७५ हजार जनाले प्रदर्शनीको अवलोकन गरेकोे र औसतमा ७० प्रतिशत अवलोकनकर्ताहरुबाट ३० हजार जोर जुत्ता, चप्पलको कारोबार भएको फुटवेयर एसोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए ।
‘पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्यो’ नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘हामी ग्राहकमैत्री बनेको प्रमाणित भयो ।’ नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेलामा नेपाली ग्राहकहरूको दैनिक भीडले आफूहरु थप उत्साहित बनेको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने अभियान चितवनमा सफल देखिएको उनले बताए ।
मेलामा बिएफ डियरहिल, बिएफ स्पोट्र्स, शिखर शुज, क्रसरोड, फस्ट वाक, शुजल्याण्ड, रन शुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफलगायत ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्रीहरु उपलब्ध छन् ।
चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौँ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन बढेको छ । नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मन पर्ने दर्शकहरुले बताए । नेपालमा सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता, चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ता, चप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ ।
दैनिक १५ लाख रूपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म ७५ हजारभन्दा बढी ग्राहक आइसकेको मेला संयोजक सुरज बन्जाडेले बताए । आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको बिएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले बताए । उनले ग्राहकहरूले समर, स्कुल, स्पोर्ट्स जुत्ता रुचाएको बताए । उनले प्रवद्र्धन मेलामा आएका व्यवसायी तथा अवलोकनकर्ताहरुमध्ये सय जनाले प्रदर्शनीमा रहेका नेपाली जुत्ता, चप्पलको चितवन, मकवानपुर, नवलपुर, धादिङ, गोरखा र तनहुँ जिल्लामा डिलरसीप लिनका लागि आशय व्यक्त गरेको बताए ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीको १५ दिने कार्यप्रगति प्रस्तुत गरेका थिए ।
मेलामा ११ वटा नेपाली उत्पादनको हजारभन्दा बढी ब्राण्डका जुत्ता, चप्पल बिक्री भइरहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उनले कुल बिक्रीमध्ये फागुन महिनामा लगभग ६५ प्रतिशत पार्टी सुजको कारोबार भएको र चैत लागेपछि स्पोर्ट्स जुत्ताको कारोबार बढ्न थालेको समेत बताए । हालसम्म मेलामा ३ करोडको कारोबार भएको उनले जानकारी दिए । उनले चितवनका सबै पालिकाहरुका गाउँगाउँ, टोलटोलबाट उपभोक्तहरुको आगमन भैरहेको साथै धादिङ, गोरखा, नवलपुर, मकवानपुर, तनहुँ लगायतका जिल्लाबाट आएका उपभोक्ताहरुबाट मेलाको अवलोकन भइरहेको बताए ।
नेपाल फुटवेयर एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले प्रवद्र्धन मेलाले प्रतिस्टल औसतमा ७ जना र सरसफाई तथा सुरक्षासहित ८५ जनालाई १ महिनाको लागि प्रत्यक्ष रोजगार प्रदान गरेको, प्रयोगपश्चात मात्र जुत्ता, चप्पलहरुको गुणस्तर पहिचान हुने भएकोले नेपाली उत्पादनको गुणस्तरका बारेमा पृष्ठपोषण लिनका लागि सय जना उपभोक्ताहरुको नमुना सर्वेक्षण गरी उत्पादन परिस्कृत गरिने समेत बताए ।





