काठमाडौं, २२ फागुन ।
विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ४२ रनले पराजित गरेको हो ।
यससँगै शीर्ष ३ मा पर्दै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना कायम नै छ । नेपालले अब २ खेल जिते एकदिवसीय मान्यता बचाउन सफल हुनेछ ।
बाँकी ४ खेल जित्न सके विश्वकपको क्वालिफायरमा छनोट हुनेछ । लिग–२ मा नेपालले पहिलो पटक यूएईलाई पराजित गरेको हो ।
जितसँगै नेपाल तालिकामा यूएईलाई उछिनेर पाँचौ स्थानमा उक्लिएको छ । लिग २ का पाँच टोलीको एकदिवसीय मान्यता कायम रहनेछ ।
२३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रनमा अलआउट भयो । यूएईको लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाए ।
नेपालको लागि सोमपाल कामीले तथा दीपेन्द्र सिंह ऐरीले ३–३ र सन्दीप लामिछाने, आरिफ शेख र करण केसीले १ विकेट लिए। ४१ ओभरमा लगातार २ विकेट लिदैँ दीपेन्द्रले नेपालको जितलाई सहज बनाए ।
उनले नेपालको लागि चुनौती बनिरहेका आसिफ खानलाई ४१.१ ओभरमा क्याच एण्ड बोल्ड गरे। ४१.२ ओभरमा दीपेन्द्रले कार्थिकलाई पनि सोहि शैलीमा आउट गरे ।
सन्दीपले भने आफ्नो अन्तिम बलमा नेपालको लागि १० औँ विकेट लिए । आलिशान शरफुलाई आउट गर्दै करनले लिग–२ मा आफ्नो ५० औँ विकेट पुरा गरे ।
पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा २२९ रन बनाएको हो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेखले अविजित ४३ जोडे । प्रतिश जीसी ११ रनमा अविजित रहे ।
संकटमा परेको नेपाली इनिङ्स सम्हाल्दै भीमले नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । भीमको एकदिवसीयमा पहिलो अर्धशतक हो ।
कुशल मल्लले ३२ रनको योगदान गरे । छैंटौँ विकेटको लागि सन्दीप र भीमले ७६ बलमा ५० रनको साझेदारी गरेका थिए । सन्दीप २७ रनमा आउट भए ।
करण केसीले ११ बलमा १७ रनको योगदान गरे । ओपनर ज्ञानेन्द्र मल्ल ११, आसिफ शेख ६, कप्तान रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भएपछि नेपाल संकटमा परेको थियो ।
तर भीमले सन्दीप र आसिफसँग मिलेर नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए । नेपालले अबका तीन खेल घरेलु मैदानमा खेल्नेछ ।





