भरतपुर, १८ फागुन ।
भरतपुरमा जारी जुत्ताचप्पल मेलामा ग्राहकको उल्लेख्य सहभागिता रहेको छ । भरतपुर १० स्थित प्रदर्शनी केन्द्रमा बुधबारबाट शुरु भएको नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी मेलाको दोस्रो दिन अवलोकन गर्ने ग्राहकहरुको भीड लागेको हो ।
दोस्रो दिन बिहीबार ५ हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको आयोजकमध्ये एक केटीएम सुजका प्रबन्धक प्रमोद महतोले बताए । प्रदर्शनीमा अवलोकन गर्न चितवन लगायत छिमेकी जिल्ला नवलपरासी, तनहुँ, मकवानपुर गोर्खाबाट ग्राहक आएको उनले बताए ।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको प्रथम चितवन फुटवयर एक्स्पो “चितवन जुत्ता चप्पल मेला” मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।
अगामी चैत १७ गतेसम्म सञ्चालन हुने फुटवयर एक्स्पोमा ४० वटा स्टल रहेका छन् । स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो ।
प्रदर्शनी दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको मेला व्यापार कमिटिका संयोजक सुरज बञ्जाडेले बताए । उनले मेलामा विशेष आकर्षक छुटले ग्राहकहरुको भीड हुने दाबी पनि गरे ।




