भरतपुर, १४ फागुन ।
अदालतले सफाई दिएपछि अभिनेता पल शाह भोलि जेलबाट रिहा हुने भएका छन् । तनहुँ कारागारमा बन्दी जीवन बिताइरहेका पलले एक वर्षपछि आरोपबाट सफाइ पाएका हुन् ।
विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आज रिहा गर्न नभ्याइने स्रोतले बताएको छ । उनी गत वर्षको फागुन महिनामै पक्राउ परेका थिए । उनी आफैं तनहुँ प्रहरी कार्यालय गएर आत्मसमर्पण गरेका थिए ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले उनलाई सफाइ दिएको हो । उनी भोलि जेलबाट निस्किएर काठमाडौं जाने बुझिएको छ ।
जिल्ला अदालत, नवलपुरले शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो । जिल्ला अदालत, नवलपुरको फैसलाविरुद्ध शाहले उच्च अदालतमा निवेदन दिएका थिए।
उनी विरुद्ध बलात्कार मुद्दा दर्ता भएको थियो । अदालतले भने बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । त्यसका विरुद्ध सरकारी वकीलको कार्यालयले पनि उच्च अदालतमा निवेदन दिएको थियो ।
पीडित ‘होस्टाइल’ भएकाले बयान फेरेको भन्दै सरकारी वकीलको कार्यालयले बलात्कार मुद्दामा सजाइ हुनुपर्ने माग गरेको थियो । पीडित बालिकाले अनुसन्धान अधिकारी समक्ष आफूमाथि नवलपुरको गैंडाकोट र तनहुँमा शाहले बलात्कार गरेको बयान दिएकी थिइन् । तर, मुद्दा अदालतमा पुगेपछि भने पीडित बालिका र उनका अभिभावकले यस विपरीत बयान दिएका थिए ।
उच्च अदालतले दुवै निवेदनमाथि सुनुवाइ गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो ।





