भरतपुर, १४ फागुन ।
रोजगार मेला २०७९ रत्ननगरमा हुने भएको छ । आगामी चैत १० गतेदेखि १२ गतेसम्म मेला आयोजना हुने भएको छ । रत्ननगरको निपनीचोकमा रहेको होटल स्टार ब्याङ्क्वेटमा तीनदिनसम्म चल्ने मेलालाई वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको नामाकरण गरिएको छ ।
अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलोपटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालो रुपमा रोजगार मेला गर्ने गरि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच यस अघि नै भ्रद सहमति भए अनुरुप रत्ननगर नगरपालिकाले दोस्रोपटक मेला आयोजना गर्ने भएको हो ।
आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीको अध्यक्षतामा बसेको रोजगार मेला मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नगर प्रमुख प्रलाद सापकोटा, भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मा, भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका बिज्ञ सल्लाहकार रामहरि न्यौपाने, भरतपुर महानगरपालिका नगर उपप्रमुखका सचिवालय सदस्य आशिष अधिकारीलगायतको उपस्तिथिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले रत्ननगरमा रोजगार मेला हुने भएको हो ।
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्टल राख्न र प्रवेश निःशुल्क गरिने भएको छ ।
रोजगारीको शिलशिलामा भौँतारिएका युवाहरुलाई लक्षित गरि कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मूल उद्देश्य अनुरुप मेलाको आयोजना गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ ।
युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।
भरतपुर महानगरपालिकाका अनुसार नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैंक’को अवधारणा अन्तर्गतको कार्यक्रमका रूपमा रोजगार मेला सञ्चालन गर्न शुरु गरिएको हो ।
मेलामा कुनै किसिमको आर्थिक कारोबार नहुने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताए । मेलामा दुवै पालिकाका सम्पूर्ण संघसंस्थाले पनि सहयोग गर्ने भएका छन् ।
वाग्मती प्रदेशका १० पालिका मध्ये भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा यो कार्यक्रम संचालित छ । चितवन जिल्लामा अरु पालिकाहरुले यो कार्यक्रम गर्न सकेका छैनन् । अघिल्लो वर्ष भरतपुर महानगरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरले जनाएको छ ।




