भरतपुर, १४ फागुन ।
उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा शनिबार प्रोस्टेट क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम उद्योग वाणिज्य संघ–चितवन र नारायणगढ राउण्ड टेवल १४ को आयोजना एवम् कोशिस क्यान्सर सेन्टरको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यावसायिक जीवन व्यस्त रहेकाले स्वास्थ्य सम्बन्धि ध्यान दिलाउन सचेतना कार्यक्रम आयोजना गरिएको बताए । उनले स्वास्थ्य नै सम्पति हो भन्ने मन्त्रलाई आत्मसात गर्दै विभिन्न समयमा संघले स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्दै आइरहेको बताए । व्यवसायीहरु धेरै समय व्यावसायिक कार्यमा व्यस्त हुने हुनाले स्वास्थ्य सम्बन्धि ध्यान नदिइरहेकोले आफू स्वस्थ भएमात्र चितवन एवम् देशकै आर्थिक, सामाजिक विकास गर्न सक्षम हुने बताउँदै उनले व्यवसायी एवम् सबैलाई स्वास्थ्यलाई ध्यानमा राखेर कार्य गर्न अनुरोध गरे ।
कार्यक्रममा कोशिस क्यान्सर सेन्टर प्रमुख डा. सरिता राना गुरूङले प्रोस्टेट क्यान्सरको बारेमा जानकारी गराउँदै क्यान्सरको सबैभन्दा प्रभावकारी उपचार सचेतना भएको बताइन् । उनले सचेतनाले आधाभन्दा धेरै रोग घटाउने बताइन् ।
कार्यक्रमका प्रशिक्षक बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलका डा. आदित्य जलनले प्रोस्टेट क्यान्सरका बारेमा जानकारी गराउँदै प्रोस्टेट क्यान्सर बढी हुन सक्ने उमेर समूह, कारण, लक्षण र उपचार विधिका बारेमा जानकारी गराए ।
उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध व्यवसायी र व्यवसायीको परिवारलार्ई चितवन मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलमा उपचार गर्दा केही प्रतिशत छुट पाउने बताए । उनले अन्य हस्पिटलहरुमा पनि कुरा भैरहेको बताए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, संघका कार्यसमिति सदस्य, कार्यकारी निर्देशक विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, नारायणगढ राउण्ड टेवलका पूर्वअध्यक्ष, पदाधिकारीलगायत ६० जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराए ।
नारायणगढ राउण्ड टेवल १४ का अध्यक्ष विविक चाचनको अध्यक्षता सम्पन्न कार्यक्रम नारायणगढ राउण्ड टेवल १४ का सचिव प्रविन वंसलले सञ्चालन गरेका थिए ।





