कारखानाकाे खरानी, थुम्सीवासीलाई हैरानी

गैंडाकोट, ४ फागुन ।
गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीवासीलाई स्थानीय स्तरमा सञ्चालनमा रहेका विभिन्न उद्योग तथा कलकारखानाबाट निस्कने फोहोरले हैरान पारेको छ । उनीहरूले उद्योगबाट निस्कने फोहोरले वातावरण एवम् मानव स्वास्थ्यमा पारेको असरलाई कम गर्न दीर्घकालीन समाधानका लागि माग गरेका छन् ।

जयश्री टोल सुधार समितिको पटकपटक बसेको भेलाले जनप्रतिनिधि एवम् सरोकारवालासमक्ष स्थानीयले भोग्नुपरेको समस्यालाई सम्बोधन गर्न माग गरेको छ । उक्त वडामा संचालित जयश्री फुड्स प्रालिले उत्पादनका क्रममा इन्धनको रूपमा प्रयोग गर्ने धानको भुस अर्थात डँडाल्नोबाट निस्कने धुवाँ र त्यसको खरानीले मानव स्वास्थ्य एवम् वातावरणमा गम्भीर असर पुर्‍याएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय जानुका सापकोटाले घर नजिकै कलकारखाना हुँदा जीवनयापन गर्न असजिलो भएको गुनासो गरिन् । उनले अगाडि भनिन् – `बारीको तरकारीमा पनि डँडाल्नोको खरानी आएर बसेको छ, तरकारी फल्न नपाइ मरेको छ, धोएर सुकाएका कपडाको हालत उस्तै छ, धुवाँ र धुलोले स्वास फेर्न समेत अप्ठ्यारो छ ।´

जयश्री टोल सुधार समितिका अध्यक्ष चक्रपाणि कँडेलले स्थानीयको गुनासो सम्बन्धित कम्पनीमा पुर्‍याउँदा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए । `कम्पनीले गुनासो सुन्दैन, वडाध्यक्षमार्फत मेलमिलाप समिति र नगरपालिकाको वातावरण शाखामा पनि खबर पुर्‍यायौं, तर यसको समाधानका लागि कोही पनि जिम्मेवारीपूर्वक लागेका छैनन् ।´

वडाअध्यक्ष धामनाथ सापकोटा स्थानीयबासीको गुनासोलाई समाधान गर्नेगरी प्रक्रिया अगाडि बढेको बताउँछन् । `वडाका सबै उद्योग कलकारखानाको अनुगमन भएको छ, तीन पटकभन्दा बढी बैठक पनि बसिसकेका छौँ´, वडाध्यक्ष सापकोटाले भने -`उद्योगले निकाल्ने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भएको छ, मेलमिलाप समितिमार्फत यसलाई कसरी दीर्घकालीनरूपमा समाधान गर्ने भन्ने बारेमा छिट्टै नै ठोस निर्णयमा पुग्छौँ ।´

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट