राप्ती, ३ फागुन ।
राप्ती नगरपालिका वडा नम्बर ४ ले विपन्न परिवारलाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाएको छ । वडासमितिले आफ्नो वडामा बसोबास गर्ने अति विपन्न परिवारलाई स्वास्थ्य बीमाको कार्यक्रम अगाडि बढाएको हो ।
परिवारको आयस्रोत न्यून भएको परिवारलाई स्वास्थ्य समस्या आउँदा जटिल हुने भएकोले स्वास्थ्य बीमा गरिदिएको वडाअध्यक्ष केदार आचार्यले बताएका छन् ।
बुधबार वडाअध्यक्ष आचार्यलगायत वडा सदस्य तथा कार्यपालिका सदस्य रमिता परियार, वडा सदस्यहरु झमकबहादुर श्रेष्ठ, रमेश श्रेष्ठ, शान्तिमाया खुलाल र बीमा अभिकर्ता सुभद्रा चौधरी घरघरमा पुगेर विपन्न परिवारको बीमा गरिदिएका छन् ।
अहिले पहिलोचरण अन्तर्गत ३० घरधुरीले स्वास्थ्य बीमाको सेवा पाउनेछन् । बीमाले घरपरिवारका सदस्य बिरामी परेमा १ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ ।
घरको अनुगमन
यस्तै वडासमितिले बन्दै गरेको घरको अनुगमन गरेको छ । वडाको बजेटबाट निर्माणाधीन घरको अनुगमन वडा समितिले गरेको हो । अहिले वडाले विपन्न परिवारको लागि २ वटा घर बनाइरहेको छ । दुबै घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडाअध्यक्ष आचार्यले बताए । ३/३ लाखको बजेटमा घर निर्माण कार्य सुरु गरिएको पनि उनले बताएका छन् ।




